Shittalpati
रिब्दीकोटमा स्वास्थ्य संस्थाहरुको पिएनसी समीक्षा तथा योजना तर्जुमा गोष्ठी

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य संस्थाहरुको पिएनसी (सुत्केरी पश्चात दिइने सेवा) समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि २ दिने गोष्ठी सुरु  भएको हो ।

गोष्ठीको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरेकी हुन् । गोष्ठीको शुभारम्भ गर्दै उपाध्यक्ष अधिकारीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा व्यापक समीक्षा गर्न जरुरी रहेको बताइन् । उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम  गरेकाले सोही अनुसार स्वास्थ्य संस्थाहरुबाट सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् । कर्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणीप्रसाद खनालले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले जनताको नजिकको अस्पताल भनेकै वडामा रहेका स्वास्थ्य  संस्था भएकाले उनीहरुलाई सहज र छिटो छरितो सेवा प्रवाह गर्न  स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

पालिका भित्रका स्वास्थ्य संस्थाहरुले एक वर्षमा गरेका कार्यक्रम तथा  गतिविधिहरुको समीक्षा र आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट र कार्ययोजना निर्माणका लागि गोष्ठी आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । उनले सबै स्वास्थ्य संस्थाहरुबाट पिएनसी सेवा दिदै आएको र त्यो प्रभावकारी बन्दै गएको उल्लेख गरे ।  सुत्केरी पश्चात सुत्केरीको घरमै गएर सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था  बुझ्ने र नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार बच्चा जन्मेको २४ घण्टाभित्र , ३ दिन  भित्र, ७–१४ दिन भित्र र ४२ दिनभित्र ४ पटक स्वास्थ्य परीक्षण गरी मातृत्व र नवजात शिशुको मृत्यु दर कम गर्ने उद्देश्यले  पिएनसी सेवा दिदै आइएको प्रमुख अधिकारीले बताए ।

मंगलबारसम्म चल्ने कार्यक्रममा  ८ वटै वडाका स्वास्थ्य संस्थाका नर्सिङ कर्मचारीहरुको सहभागीता रहेको छ । गोष्ठीमा प्रत्येक स्वास्थ्य संस्थाहरुले आफुहरुले गरेका गतिविधिहरु प्रस्तुत गरेका छन् । उनीहरुले एक अर्कोबाट गरेका कामहरु सिक्ने र सिकाउन गोष्ठी महत्वपूर्ण हुने विश्वास लिएका छन् ।  

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update