
नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको छ । तापक्रम वृद्धिदेखि लिएर अनियमित मौसम प्रणालीसम्मका समस्या नेपालमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव हुन् । जुन समयमा जे हुनुपर्ने हो यसको प्रभावले गर्दा त्यसो हुनसकेको छैन । प्रकृति प्रदत्त नियम मानवीय क्रियाकलापले गर्दा बिग्रन गई त्यसमा असन्तुलन सिर्जना भएर फरक परिणाम देखिने गरेको छ । यसले गर्दा समग्र वनस्पति, प्राणी तथा मानवलाई समेत प्रभावित बनाएको छ । पछिल्लो समय नेपालको हिमाली भेगमा अत्यन्तै न्यून मात्रामा हिउँ देखिन थालेको छ । जसले गर्दा समयमा पानी नपर्ने, पानी नपरेपछि पर्याप्त उब्जनी नहुने, खाद्य संकटजस्ता परिस्थिति सामना गर्नुपर्ने जस्ता स्थिति देखिन थालेका छन् ।
अहिले सुक्खा याममै वनजंगलमा आगलागी भएका घटनाहरु समेत आएका छन् । पानी नपरी वातावरणमा धुवाँ–धुलो जम्मा भएर बस्नाले प्राणीहरूको श्वासप्रश्वास प्रक्रिया प्रभावित बनिरहेको छ । राम्ररी सास फेर्न नपाउने र प्रदूषणयुक्त सास फेर्नुपर्ने बाध्यताले गर्दा मानिसमा रोगव्याधी सिर्जना हुन जान्छ । न राम्ररी घाम लाग्न सकेको छ न त पानी नै पर्न सकेको छ । यसले गर्दा वातावरण कचल्टिन पुगेको अवस्था छ र मानिसहरू बिरामी हुने क्रम बढ्न पुगेको छ । यस पटकको हिउँद ‘सुख्खा हिउँद’का रूपमै बित्न लागेको छ । हिउँले सेतै ढाकिनुपर्ने हिमालहरूमा हिउँ पर्न सकेको छैन । ती अग्ला पर्वत हिउँ नभएपछि हिमालयको अस्तित्व जोगाएर रहन सक्नेछैनन् । ती त बिस्तारै काला पहाडमा रूपान्तरण हुँदै गएका छन् । यी सबै जलवायु परिवर्तनका कारणले गर्दा नै भएको हो । त्यसैले समयमा यसको नियन्त्रण र रोकथामसम्बन्धी सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ । जलवायु परिवर्तनको असर कम गर्न दीर्घकालीन समाधानका लागि सरकारले ठोस नीति अवलम्बन गर्नुपर्छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि नवप्रवर्तनशील उपायहरू अवलम्बन गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न दबाब दिनुपर्छ । नेपालका हिमाली क्षेत्रको रक्षा गर्नु भनेको यहाँको जलस्रोत, जैविक विविधता, पर्यटन र समग्र मानव अस्तित्व जोगाउनु हो । तसर्थ जलवायु परिवर्तनको असरप्रति सरकारले उचित कदम चाल्न जरुरी छ ।