गुल्मी । कोरोना भाइरसको लक्षण देखिएका नागरिकहरुलाई व्यवस्थित गरि राख्नका लागि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन सञ्चालनका लागि डिप्रोक्स लघुवित्तले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ मा रहेको वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडामा निर्माण गरिएको क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापनका निमित्त खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको हो ।
संस्थाले विश्व भरी फैलिएको महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकाथामका लागि गाउँपालिकाले वडामा निर्माण गरेको क्वारेन्टाइनका रहेका व्यक्तिलाई पुग्ने गरि खाद्यन्न सहयोग गरेको शाखा प्रमुख दामोदर गौतमले बताए । विश्व नै कोरोना भाइरसले त्रसित भई रहेको बेला भारत तथा अन्यमुलुकबाट आएर क्वारेन्टाईनमा बसेका नागरिकहरुका लागि संस्थाले जिरा मसिनो चामल १० बोरा, तेल १ प्याक, नुन १० पोका, साबुन २६, दाल १० किलो, मरमसला गरी २० हजार बराबरको खाद्यन्न सामग्री सहयोग गरेको हो ।
संस्थाका शाखा प्रमुख गौतमले वडा अध्यक्ष ठानिश्वर पाण्डेलाई उक्त खाद्यन्न सामग्री हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै प्रमुख गौतमले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोग गरेको बताए । सामग्री ग्रहण गर्दै वडा अध्यक्ष पाण्डेले विपद्का बेला वित्तिय संस्थाले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । उनले विषम परिस्थितीमा सबै एक जुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए । संस्थाले देशभर रहेका १ सय २० वटा शाखा बाट राहत वितरण गर्दै आईरहेको छ ।