
पाल्पा । बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् । विद्यार्थीहरु घरमै बसेको अवस्थामा विद्यार्थीहरुको सिकाईमा सहयोग पुर्याउन रुम टु रिड नेपाल र बेस नेपालले जिल्लामा अभिभावक सहजीकरण तथा बाल रेडियो कार्यक्रम सञ्चालन गरेका छन् । उनीहरुले बालबालिकाहरुलाई घरमै बसी पढाई र क्रियाकलापमा क्रियाशील गराउन अभिभावक सहजीकरण र बाल रेडियो कार्यक्रम सञ्चालन गरेका हुन् । विद्यार्थीहरुको क्षमतालाई बाहिर ल्याउन र सिर्जनशीलताको विकासमा जोड दिन बाल रेडियो कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने संस्थाहरुले विश्वास लिएका छन् ।
सहजीकरण कार्यक्रम अन्र्तगत घरमा बसेर आफ्ना बालबालिकालाई के क्रियाकलाप गर्ने, कसरी गराउने भन्ने विषयमा अभिभावकसँग छलफल गरिएको बेस नेपालका सहजकर्ता भिष्म नेपालले बताए । अभिभावक सहजीकरका लागि नेपाल सरकारले अवलम्बन गरेको पाठ्यक्रममा आधारित क्रियाकलापहरु घरमै बसेर गर्नका लागि सहजिकरण गरिने उनले बताए । प्राथमिक तहका विद्यार्थीहरुलाई आफ्ना रुची र क्षमताका आधारमा कार्यतालिका निर्माण, चित्र बनाउने, चित्रमा रङ्ग लगाउने, कथा सुनाउने, गीत गाउने, घरमा प्रयोग हुने समानहरुको नाम भन्न, लेख्न लगाउने, भान्सामा प्रयोग हुने समानको नाम लेख्न, भन्न लगाउने लगायतका क्रियाकलापहरु अभिवकलाई सहजीकरण गरिएको नेपालले बताए । जिल्लामा कार्यक्रम लागु भएका ४३ विद्यालयका प्राथमिक तहका अभिभावकहरुलाई सहजीकरण गरिएको उनले जानकारी दिए । सहजीकरण कार्यक्रमले आफुलाई घरमा बाबुनानीहरुलाई सिकाउन र व्यस्त राख्न सहयोग पुर्याएको उद्बुद्ध माध्यमिक विद्यालयका अभिभावक मनिषा बरालले बताए ।
‘नानीबाबुहरु जानेको चित्र बनाउन पाउदा र कथा सुन्न पाउदा खुसी हुन्छन्,’ उनले भने । ‘आफुले जानेका गीत, चुट्किला, कथा, कविता रेडियोमा पठाउछन्, आज रेडियोमा आउछ, भन्दै साथीहरुलाई रेडियो सुन्न लगाउछन् ।’ उनी भन्छन् ‘रेडियो कार्यक्रमले नानीबाबुहरुलाई जागरिलो बनाएको छ ।’ ‘धेरै राम्रो लागेको छ, रेडियो कार्यक्रम निरन्तर भए राम्रो हुन्थ्यो, उनले थपे ।’ घरमा बसेका बालबालिकाहरुलाई सिकाईमा सहयोग गर्नका लागि अभिभावकलाई नै क्रियाशील गर्न गरेको अभ्यासले विद्यार्थीहरुको सिकाईमा राम्रो सहयोग गर्ने नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर विकले बताए ।
जिल्ला स्थित सरोकारवालाहरुको समन्वयमा वैकल्पिक शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताए । सञ्चालित कार्यक्रम जिल्लाका सबै तहका विद्यार्थीहरुलाई लक्षित भएको उनले बताए । अभिभावक सहजीकरण, पुस्तक जारी, बाल रेडियो कार्यक्रम, ‘पढौं र पढाउ’ भन्ने जस्ता सन्देश मुलक शब्द सन्देश अभिभावक र शिक्षकहरुलाई मोवाइलमा पठाउने क्रियाकलापहरु नियमित गरिरहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।