पाल्पा, ७२ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांकमा छ । कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ ।
चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन ।