Shittalpati
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस

रमेश विश्वकर्मा
गुल्मी । १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा जिल्लाका दलित समुदायले १० बुँदे माग पत्र समेत सार्वजनिक गरेका छन् । उनीहरुले नेपालको संविधान, मुलुकी अपराध संहिता ऐन २०७४, जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ लगायतका नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धीहरुहरुमा भएका प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वय गर्न माग गरेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण वर्वतापूर्वक नरसंहार गरी हत्या गरिएका रुकुम चौरजहारी हत्या काण्डमा मारिएका जाजरकोटका नवराज वि.क. सहित ६ जना दलित तथा गैरदलित युवाहरुका हत्याराहरुलाई हदैसम्मको कारवाही गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, आक्रमणवाट सक्तरुपमा घाइते बनाइएका १२ जना घाइते युवाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
देश व्यापीरुपमा दलित महिला माथि भइरहेका बलात्कार, हत्या, हिसां, मानसिक यातना लगायतका घटनामा संलग्नहरुलाई कार्वाही गर्न, दलित महिलाहरु माथि भइरहने यस्ता घटनाहरु तुरुन्त बन्द गर्न माग गरेका छन् । कालीगण्डकी गाउँपालिका फोक्सिङ्ग लगायतका स्थानहरुमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धका घटनाहरुलाई कमजोर बनाउन खोेज्ने, मेलमिलाप गराउन दवाव जस्ता षड्यन्त्रहरु तुरुन्त वन्द गर्न समेत माग गरे ।  कोरोना महामारीको यथासक्य नियन्त्रण गर्न, महामारीमा विश्वसंकटमा भइरहेका समयमा समेत क्वारेन्टाइनमा गरिने जातीय छुवाछूतको विभेद बन्द गर्न, देशव्यापी रुपमा दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछुतका विरुद्ध नियोजित एवं षड्यन्त्रणमूलक रुपमा भइरहेका आक्रमण विरुद्ध सशक्त रुपमा आन्दोलनको नेतृत्व गर्न केन्द्रिय नेतृत्वसंग जोडदार माग गरेका छन् ।

रुकुम घट्नाको सत्यतथ्य छानविन गर्न संसदीय छानविन समिति तुरुन्त गठन गर्न, राष्ट्रिय दलित आयोग लगायतका संरचनाहरु तुरुन्त गठन गर्न, जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा दिवस जेष्ठ २१ र अन्तर्राष्ट्रिय विभेद उन्मूलन दिवस चैत्र ८ (मार्च २१) लाई राष्ट्रिय दिवसको रुपमा मनाउने र उक्त दिन सार्वजनिक विदाको व्यवस्था गर्न माग गरेका हुन् । साथै दलित समुदाय माथि श्रृङखलावद्ध रुपमा भइरहेका जातीय विभेदका घटनाहरु विरुद्धमा भइरहेका आन्दोलनमा दलित साझा मञ्च गुल्मी ऐक्यवद्धता जाहेर समेत गरेका छन् । त्यस अवसरमा दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले कार्यक्रममा दलित आन्दोलन र अहिलेको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । जसको टीप्पणी नागरिक समाजका अध्यक्ष तथा पदमप्रसाद पाण्डे, दलित आन्दोलनका अगुवा गणेश श्रीपाली, दलित आन्दोलनका अगुवा कृष्ण सुनार, नेपाली कांग्रेस गुल्मीका दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा लगायत रहेका थिए । दलित साझ मञ्चका उपाध्यक्ष रोम विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन दलित अगुवा कृष्ण विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा दलित मुक्ति संगठन संयोजक धर्म विश्वकर्मा, नेपाल दलित संघका अध्यक्ष लुमबहादुर सुनार, परियार सेवा समाजका अध्यक्ष लक्ष्मण परियार, दलित महिला संघकी अध्यक्ष कमला बराल, सुनचाँदी व्यवसायी संघका अध्यक्ष बालकृष्ण बराल, रेसुङ्गा नगपालिका ९ का वडाअध्यक्ष नारायण सुनार, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य र्इश्वरी परियार लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update