Shittalpati
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले वडा ३ कसेनीका वडा सदस्य स्वर्गीय निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले स्वर्गीय ठाडाको छोरी रञ्जिता ठाडालाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले विद्यार्थी ठाडालाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले पारीवारिक अवस्था कमजोर भएको परिवारलाई छोरीको अध्ययनमा केही राहत मिलोस् भनेर आर्थिक सहयोग गरेको बताए । उनले भने ‘सहयोगले रञ्जितालाई अध्ययनमा थप टेवा पुग्ने विश्वास लिएको छु ।’ गाउँसभा सदस्य समेत रहेका स्वर्गीय ठाडाको वि.सं २०७६ भदौ १९ गते हृदयघातको कारण मृत्यु भएको थियो ।

उनको एक छोरा र एक छोरी रहेका छन् । रञ्जिता दिव्य ज्योती मावि कसेनीमा अध्ययन गर्दै आएकी छन् । गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा ३ कसेनीका वडा अध्यक्ष दिपक थापा, गाउँ कार्यपालिका सदस्य तारा रसाईली, सावित्रा पन्थी लगायतको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update