पाल्पा,हिमालयन बैंक लिमिटेडले तानसेनको लुम्बिनी मेडिकल कलेज परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जंगबहादुर राणा र लुम्बिनी मेडिकल कलेज प्रभासका अध्यक्ष गोपाल पोखरेलले संयुक्त रुपमा काउन्टरको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले घरदैलोमै आएको सेवालाई सही रुपमा सदुपयोग गर्न स्थानीयलाई आग्रह गरे । उनले पुँजीबजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा बैंक पूर्णरुपमा समर्पित हुने बताए । लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेलले मेडिकललाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याएकोमा बैंकलाई धन्यवाद दिए । ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै जाने बैंक पाल्पा शाखाका प्रवन्धक रितेश विष्टले बताए । बैंकले देशभर ७२ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ । उद्घाटन कार्यक्रममा स्थानीय, बुद्धिजिवी, चिकित्सक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । लुम्बिनी मेडिकल कलेजमा विद्यार्थी र कर्मचारी गरी एक हजार दुई सय रहेका छन् । विशेषगरी कलेजमा अध्ययनरत विद्यार्थी, कर्मचारी र सेवाग्राहीहरुलाई लक्षित गरी बैंकले आफ्नो सेवा विस्तार गरेको हो ।