पाल्पा, धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक विहीबार सात दशमलव ३३ अङ्कले घटेको हो । नेप्से घटेसँगै दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ । सो अवधिमा दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् । बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ । त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।