राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज जन्म दिन हो । शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ । हरेक वर्ष पौष २७ गते बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म दिनका दिन उनको योगदान सम्झने दिन हो । उनीको मात्र नभएर छरिएर रहेको नेपाललाई सिङ्गो देश बनाउन योगदान गर्ने अरू सबै पुर्खालाई सम्झना र सम्मान गर्न ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउने गरिएको हो । २०१२ सालदेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ तर यो दिवस राष्ट्र एकीकरण अभियानका सबै वीर योद्धहरूप्रति समर्पित छ ।
पृथ्वी नारायण शाहालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । पञ्चायतकालमा यस दिवसलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा मनाइयो यद्यपि २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्थ्यो । पृथ्वीजयन्तीका रूपमा विगत धेरै लामो समय राष्ट्रिय एकता दिवस मनाइँदै आएकोमा देश गणतन्त्रमा गइसकेपछि भने दिवसको महत्व घटाइएको छ । हरेक वर्ष यो दिवस मनाइए पनि एकताको उपहास भएको छ । आज देशभित्रै राजनीतिक दलहरु सत्ताको लडाईमा लागेका छन् । जसका कारण नेपालको राष्ट्रियता धमिलिएको छ भने राष्ट्रको अस्तित्व नै खतरामा परेको छ । यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेको छ । स्वभावतः यस्तो अवस्थामा राष्ट्रिय एकताको आवश्यकता महसुस गरिनु स्वाभाविक हुन आउँछ । राष्ट्र एक रहोस् भनी कामना गर्नु र त्यसका लागि सतत् प्रयत्न गर्नु हरेक राष्ट्रभक्त नागरिकको कर्तव्य पनि हो । तर त्यसो हुुन सकिरहेको छैन् । जसका कारण राष्ट्रिय एकता दिवसको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ । नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायणको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । हिजो पृथ्वी नारायण शाहाले एकीकरण गरेका नेपाली भूमिहरु छिमेकी देशहरुले अतिक्रमण गर्दा समेत नेपालका राजनितिक दलहरु मौन हुनु दुखद् हो । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनु हुँदैन । देशभक्ति पृथ्वी नारायण शाहाको योगदानलाई शिरोधार्य गर्न सकिएन भने दिवस मनाउनुको कुनै अर्थ रहदैन । तसर्थ शाहाको योगदानको कदर गर्दै सबै देशभक्तहरु एकढिक्क हुने हो भने मात्र दिवस मनाउनुको सार्थकता रहन्छ ।