Shittalpati
भूकम्पको धक्का : ख्याल गरौं

केही दिन यता नेपालमा भूकम्पका साना– ठूला पराकम्पनहरु गइरहेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले नेपालमा २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ । मंगलबार बिहान सबेरै नेपालको पूर्वी तथा मध्य भागमा गएको भूकम्पको धक्काले एक पटक फेरी सबैलाई झस्कायो । चीनको तिब्बत अर्थात् हालै चीनले दिएको नयाँ नाम सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्गयी काउन्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गयो । यसलाई शक्तिशाली भूकम्प भनिएको छ । सो भूकम्पले तिब्बततर्फ ठूलो क्षति गरेको छ । कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । धेरै घर भत्किएका छन् । 

नेपालमा पनि केही भौतिक क्षति भएको छ । पछिल्लो एक दशकभित्र नेपालमा गएका दुई शक्तिशाली भूकम्पले समाजलाई निकै ठूलो घाउ लगाएका छन् । कैयौं साना–ठूला परकम्पले पनि त्रसित बनाउने गरेकै छन् । तिब्बत भूकम्पको प्रभावले अबका केही दिन भूकम्पसँग जोडिएर बहस र चेतनाका कार्यक्रमहरू हुने छन् । यद्यपि, समय क्रममा यो प्रसंग ओझेल पर्नेछ र विगतमा झैं भूकम्पप्रतिको जागरण निष्क्रिय हुनेछ किनकि हाम्रो राज्य र समाज यसैमा अभ्यस्त छ । तर पनि नेपाली नागरिक र राज्यले बिर्सिंदै गएको मापदण्डलाई तिब्बत भूकम्पले पुनः सम्झाएको छ । पाठ सिक्न यो ठूलो अवसर हो । भूकम्प एक भौगर्भिक प्रव्रिmया भए पनि यसलाई न रोक्न  सकिन्छ न त अध्ययन अनुसन्धानबाट यसको समय तालिका अनुसार भविष्यवाणी नै गर्न सकिन्छ । टेक्टोनिक प्लेटहरूबिचको अन्तरसंघर्षका कारण भूकम्प जान सक्ने कुरा भने विगतको भूकम्प अध्ययन गरेर पनि आकलन गरिने प्रवृत्ति देखिन्छ । भूकम्प आफैँले मानिस र धनसम्पत्तिको भयानक क्षति गर्दैन । मानिसले जीवन चलाउन तथा भौतिक सुखसुविधाका निम्ति बनाएका संरचनालाई भूकम्पले क्षति गर्छ । यस्तो यथार्थलाई ख्याल गर्नुपर्छ । तिब्बत भूकम्पले क्षति न्यूनीकरणका लागि गर्नुपर्ने पूर्वतयारी र भूकम्पका निरन्तर सम्भावनालाई पुनः ताजा बहस बनाएको छ । यसलाई समसामयिक चर्चामा सीमित राखिनु हुँदैन, जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । देशभित्र ठूल्ठूला भूकम्प पटक–पटक गइरहँदा सरकारले पाठ सिक्न नसक्नु र पूर्वतयारीमा ध्यान नदिनु दुखद् हो । सरकारको गैरजिम्मेवारीपन, घटनाको अतार्किक निष्कर्ष र सही सूचना प्रवाह गर्ने प्रभावकारी वैज्ञानिक संंयन्त्रको अभावका कारण क्षतिका उही प्रकृति बारम्बार दोहोरिँदै जानु राम्रो होइन । यसर्थ भूूकम्पबाट हुने क्षतिबाट जोगिन अब बेलैमा ख्याल गरौ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update