Shittalpati
जथाभावी औषधिको प्रयोग नगरौँ

 रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । तर यो जाडो मौसममा  अलि बढी हुने गर्छ । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु राम्रो हैन । रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र जटिल । यो पाँच–सात दिनमै निको हुने भएकाले औषधि खाइहाल्नु पर्दैन । रुघाखोकी लागेमा पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने र सरसफाइमा ध्यान दिनुपर्छ । घरमै औषधि खाएर निको भएन भने मात्र जाँच गराउन जानुुपर्ने चिकित्सकहरुको सल्लाह समेत छ ।

बिरामी भएपछि केही दिन यसै पनि दुःख पाइने हुनाले लाग्नै नदिनका लागि भने भिडमा नजाने, अस्पताल वा यस्तै ठाउँमा जाँदा मास्क लगाउने अनि केही चिज छोएपछि साबुनले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । घरबाट बाहिर जाँदा सबैले मास्क लगाउने र घरमा आउँदा भने त्यसपछि मास्क खोल्दा पनि हुन्छ । यसो गर्दा बाहिरबाट घरमा संक्रमण लिएर आउने सम्भावना एकदमै कम हुन्छ । यसरी आफू पनि जोगिने र अरुलाई पनि जोगाउन सकिन्छ । यस्तो बेलामा शरीरमा पानीको मात्रा कम हुन नदिनका लागि पानी बढी खाने, ज्वरो पनि आएको छ भने ज्वरोको औषधि खाने गर्नुपर्छ । त्यो भनेको लक्षण अनुसारको औषधि आवश्यक्ता अनुसार खाने गर्नुपर्छ । तर, अनावश्यकरुपमा एन्टीबायोटिक भने खानु हुँदेन । एलर्जीको पनि उपचार एन्टीबायोटिक होइन । अर्को भनेको आफुबाट अरुलाई नसरोस् भन्नका लागि मास्क लगाउने, दूरी कायम गर्ने गर्नुपर्छ ।

रुघाखोकी सामान्य घरेलु प्रक्रियाले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको निकै दुखे, घाँटी बांगिए, वान्ता भए, सास फेर्न असजिलो भए, छाती दुखे तुरन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । घाँटीको स्टेप्टोकोकल संक्रमणका कारण यस्तो हुन सक्छ र यस्तो स्थितिमा भने एन्टिबायोटिक आवश्यक हुन सक्छ । तर सामान्य अवस्थामा जथाभावी रुपमा औषधी भने प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो हैन । तसर्थ रुघाखोकी लाग्यो भन्दैमा अनावश्यक औषधि नखाऔं । चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गरौं ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update