Shittalpati
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन

भैरहवा, बाक्लो हुस्सु र शितलहरका कारण  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका अनुसार मंगलबार भैरहवाको तापक्रम ११ देखि १५ डिग्री सेल्सीयसकाबीच रहेको थियो । बाक्लो कुहिरोका कारण भीजीबीलीटी (आँखाले प्रत्यक्ष देखिने दूरी) ९ सयदेखि १ हजार २ सय मिटर छ । विमान अवतरण र उडानका लागि आवश्यक पर्ने भीजीबीलीटी कम भएकाले यो समाचार तयार पार्दासम्म भैरहवाबाट कुनै पनि हवाई उडान हुन सकेनन् । आपतकालीन अवस्थाबाहेक सामान्य अवस्थामा हवाई उडान गर्नका लागि १ हजार ८ सय मिटरको भीजीबीलीटी आवश्यक पर्नेमा त्यसअनुरुप नभएकाले हवाई उडान हुन नसकेको बताइएको छ । हवाई उडानको प्रतिक्षामा रहेका हवाई यात्रुहरु मंगलबार बिहानैदेखि विमानस्थल जाने र फर्किने गरेका थिए ।

हुस्सु र शितलहरसंगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ । सडकमा यातायात साधन कम संख्यामा चलेका छन् । पैदल यात्रु पनि कम देखिएका छन् । सडक पेटी र चोकहरुमा चिसोबाट जोगिन स्थानीय आगो तापिरहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update