पाल्पा, पाल्पा व्यापार संघले जिल्लाका पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह गरेको छ । सोमबार संघले कार्यालयमा नेपाल पत्रकार महासंघ पाल्पाका नवनिर्वाचित समितिलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितमा सशक्त ढंगले कलम चलाई दिन आग्रह गरेको हो ।
संघले पत्रकार र उद्योगी व्यवसायीहरुबिच नङ र मासुको जस्तै सम्बन्ध भएकाले व्यवसायीहरुको हितमा कलम चलाइदिनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा संघका अध्यक्ष विष्णुबहादुर कार्कीले पछिल्लो समय जिल्लाका उद्योगी, व्यवसायीहरु पलायन हुने अवस्था आएकाले उनीहरुलाई रोक्ने दिशामा सशक्त ढंगले कलम चलाइदिन पत्रकारहरुलाई आग्रह गरे । उनले राजनीतिक गन्ध भन्दा माथि उठेर व्यसायीलाई स्थापित गराउने विषयमा गम्भीर भएर आफ्ना कलम र आवाज बुलन्ध गरिदिनुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले भने ‘ पत्रकारहरु भनेका देशका चौथो अंग हुन्, तपाईहरु स्वाभिमानी हुनुहुन्छ, त्यसैले पनि यहाँहरुले लेखेका र बोलेका कुराहरुले व्यवसायीहरुको हित हुन्छ भन्ने हामीलाई लागेको छ ।’ उनले व्यापार संघले छिट्टै महोत्सव आयोजना गर्न लागेकाले त्यसमा समेत सहयोग गरिदिन पत्रकारलाई आग्रह गरे । अध्यक्ष कार्कीले पत्रकारहरु हाम्रा अभिभावक भएकाले राम्रो कामको प्रचार र खराब कामको खबरदारी गरिदिनुपर्नेमा समेत जोड दिए । व्यापार संघका संस्थापक अध्यक्ष चिरञ्जीवी पोखेरले समाजलाई सचेत बानाउने दिशामा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले समाजलाई सचेत बनाउँदै उद्योगी, व्यसायीहरुका पिरमर्काहरुमा समेत साथ दिन पत्रकारहरुलाई आग्रह गरे । जनप्रतिनिधि समेत रहेका पोखरेलले आगामी दिनमा पत्रकार र व्यापार संघबिच पाल्पाको विकास र समृद्धिमा साझेदारी गरेर बढ्नुपर्ने सुझाव दिए । उनले व्यापार संघ अब रचनात्मक ढंगले अगाडि बढ्नुपर्ने भन्दै जिल्लाको पार्किङ र पर्यटकीय क्षेत्रको विकासमा लाग्न आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष बामदेव बस्यालले संघ सधै व्यवसायीहरुको हितमा प्रतिवद्ध रहेको जनाउँदै त्यसमा पत्रकारहरूको साथ आवश्यक रहेको औल्याए । पाल्पालाई व्यससायिक रुपमा चलायमान बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले अब संघ र पत्रकारहरुसँगै अगाडि बढ्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले व्यापार संघका हरेक सकारात्मक कदममा पाल्पाली पत्रकारहरुको साथ रहेको र कही कतै गलत गरेमा त्यसका विरुद्ध भने पत्रकारहरुले सशक्त ढंगले कलम चलाउने उल्लेख गरे । उनले पाल्पाका व्यवसायी र मिडियाहरु संकटमा रहेकाले दुबै निकाय सहकार्य गरेर अगाडि बढे पत्रकार र व्यवसायीहरु स्थापित हुने बताए । अध्यक्ष तिमिल्सेनाले उपभोक्तमैत्री बन्न समेत व्यापार संघलाई आग्रह । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गहिरे, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका जिल्ला अध्यक्ष कृष्ण दर्नाल, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरे लगायतले मिडिया र व्यसायीबिचको तालमेल हुन नसकेको भन्दै अब सहकार्य गरेर जानुपर्नेमा जोड दिए । संघका अध्यक्ष विष्णु कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कमल ढकालको स्वागत, महासचिव तुलबहादुर अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।