Shittalpati
ग्लोबल बैंकद्वारा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ । उसले लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ७ सय ५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, १ सय १९ जनाको आँखा जाँच गरिनुका साथै २ सय जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको बैंकले जनाएको छ । बैंक पौष १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवालाई प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । ‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ’ उनले भने,‘सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो ।’ बैंकले स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update