पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो ।
हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको नेपाल आयल निगमले जनाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।
निगम सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा तोकेको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैया तोकिएको निगमले जनाएको छ । यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय५३ रुपैयाँ निर्धारण गरिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।