Shittalpati
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य

देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वांगीण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच स्थापित हुनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन् । हाम्रो शिक्षा प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको पनि छैन । त्यसैले हाम्रो शिक्षा कमजोर अवस्थामा छ । सामुदायिक क्षेत्रमा यसको सञ्जाल, संरचना र कभरेज राम्रो छ तर त्यसबाट जति प्रतिफल आउनुपर्ने हो त्यति प्रतिफल आउन सकेको छैन । शिक्षा क्षेत्रमा राज्यले जति लगानी गरेको छ सो लगानी गरेअनुसारको उपलब्धि पनि निकै न्यून छ । शिक्षा क्षेत्रमा राजनीतिकरण हुँदा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान हुन सकिरहेको छैन । यो नेपाल र नेपालीका  लागि  दुर्भाग्यको कुरा हो । अहिले पहाडी क्षेत्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या अत्यन्त कम छ भने अर्कोतर्फ विद्यार्थीहरु दैनिक जसो विदेश पलायन भइरहेका छन् । यसले पनि नेपालको शैक्षिक क्षेत्रको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ ।

सामाजिक, आर्थिक पक्षमा पनि शिक्षा सुधारका लागि चुनौती छन् । गरिबी र बेरोजगारीका कारण धेरै अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसक्ने स्थिति छ । यसमा डिजिटल शिक्षाको समयसापेक्ष माग भए पनि अधिकांश विद्यालयमा इन्टरनेट, कम्प्युटर र स्मार्ट कक्षाकोठा जस्ता सुविधा उपलब्ध छैनन् । यसैले गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्नेमा सरकारसामू ठूलो चुनौती छ, हाम्रो शिक्षालाई जीवनोपयोगी खासै बनाउन सकिएको छैन । त्यसैले कसरी जीवनोपयोगी बनाउन सकिन्छ भन्नेमा सरकारले संवेदनशील भएर सोच्ने र सोहीअनुसार प्रभावकारी योजना र कार्यक्रम ल्याएर शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update