पाल्पा, स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
ट्याक्टरले च्यापिएका उनलाई उपचारका लागि कालीगण्डकी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडिएको ट्याक्टर अनियन्त्रित भई सडक देखी अन्दाजी ४० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बारा कलैया उपमहानगरपालिका –१० का २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका– ११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । घाइते दुबैको टाउका र शरीरका भागमा चोट लागेको छ । उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा ल्याइएको छ । टयाक्टरमा सवार बारा गढीमाई –११ का १४ वर्षीय सिकन्दर यादव भने सकुशल रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।