पाल्पा, जिल्लामा सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । यहाँको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
बल्ढेङ्गढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
उनका अनुसार रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय आशिक शाह, अर्का २१ वर्षीय राकेश शाह र अर्का २१ वर्षीय कृष्ण शाहलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले बगालेको सुन फोहोर भएको र सफा गर्ने बहानामा अर्को सुनको जस्तो देखिने रिङ दिएर भागी फरार भएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको उपरीक्षक मल्लले जानकारी दिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–७ तल्लो काउलेमा फेला पारेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । गत साउन दोस्रो साता पनि यसै गरी सुन ठगी गर्ने अन्य चार जनालाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको थियो ।