Shittalpati
भूकम्प : सचेतना आवश्यक

२०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन  पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५  दशमलव २ रेक्टरको भूकम्प गयो ।  यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ । भूकम्प आफैमा विनाशकारी हुँदैन । मानव निर्मित भौतिक संरचना भूकम्पबाट ध्वस्त हुँदामात्र मानवीय क्षति हुने हो । भूकम्पबारे लोकचेतना बढाउनसके यस्तो क्षति केही कम गर्न सकिन्छ । 

भूकम्प जहिले पनि जान सक्छ र सबैभन्दा सुरक्षित घर बनाएर बसेका व्यक्ति पनि बाहिर निस्केका बेला भूकम्पको मारमा पर्न सक्छन् । पुरै समाजमा भूकम्प चेतना अभिवृद्धि नगरी र निर्माण मापदण्डलाई स्तरीय नबनाई हामी यो सामूहिक जोखिमबाट बँच्न सक्दैनौं । पछिल्लो जनगणनाले नेपालको आधाभन्दा बढी जनसंख्या तराईमा नै रहेको देखाएको छ । मुलुकको ठूलो जनघनत्व जुन भूगोलमा बसिरहेको छ, त्यहाँका बहुसंख्यक वासिन्दामा एउटा भ्रम के छ भने भूकम्पले पहाडमा मात्र बढी असर गर्छ । यी भ्रमहरूलाई चिर्न जरुरी छ । सचेतना अभावका कारण पनि भूकम्प जाँदा ठूलो जनधनको क्षति नेपालले व्यहोर्नु परेको छ । भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखेर भौतिक संरचनाहरू बन्ने गरेका छैनन् । स्कुल, कलेज, सिनेमा घर, सभागृह तथा पुल आदि सार्वजनिक महत्वका संरचना बनाउँदा भूकम्पलाई राम्ररी ख्यालमा राख्ने गरिएको छैन । 

भूकम्प प्रतिरोधी भौतिक संरचना बनाउंँदा भूकम्पबाट हुने मृत्यु र क्षति न्यून हुन्छ भन्ने तथ्यलाई नीति र व्यवहारको अभिन्न अंग बनाउन सकिएको छैन । देशभित्र ठूल्ठूला भूकम्प पटक–पटक गइरहँदा सरकारले पाठ सिक्न नसक्नु र पूर्वतयारीमा ध्यान नदिनु दुखद् हो । सरकारको गैरजिम्मेवारीपन, घटनाको अतार्किक निष्कर्ष र सही सूचना प्रवाह गर्ने प्रभावकारी वैज्ञानिक संंयन्त्रको अभावका कारण क्षतिका उही प्रकृति बारम्बार दोहोरिँदै जानु राम्रो होइन । नेपालमा अधिकांस घरहरु भूकम्पमैत्री छैनन् । जसका कारण भूकम्पको परकम्प आउनसाथ ठूलो क्षति व्यहोर्नु नेपालीको नियति नै बनेको छ । भूकम्पको कम्पन र पराकम्पनसँगै हुन जाने ठूल्ठूला जनधनको क्षतिबाट बस्तीलाई बचाउन भूकम्पमैत्री आवासीय तथा अन्य संरचना निर्माण गर्ने कुरामा आम नागरिकलाई सचेत बनाउन आवश्यक छ । यसका लागि सरकारले भूकम्पमैत्री संरचना बनाउन जनतालाई सचेत बनाउनुको साथै प्रोत्साहन गर्न जरुरी छ । यसो भयो भने मात्र भूकम्पबाट हुन सक्ने सम्भावित घटनाबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update