स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ । ध्यान गर्ने बानी गर्नु शरीरलाई मात्र नभएर मस्तिष्कलाई पनि राम्रो हुन्छ । प्राचीनकालमा ध्यानकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै ध्यान प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा ध्यान गर्नाले जीवनमा कहिल्यै पनि औषधि खानु पर्दैन । चिकित्सकलाई धाइरहनुपर्दैन । त्यसैले ध्यानलाई सबैले व्यवहारिक जीवनमा अपनाउन जरुरी छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ । विशेषगरी बिहानको समयमा ध्यान गर्नु उचित हुन्छ । ध्यान गर्नको लागि शान्त ठाउँ चाहिन्छ । घरको कुनै पनि शान्त कुनामा बसेर सजिलै ध्यान गर्न सकिन्छ । ध्यानले निरोगी बनाउँछ शरीरलाई आकर्षक बनाउन, शान्त चित्त र राम्रो स्वास्थ्यका लागि अन्य कुनै उपाय अपनाउनु पर्दैन । तर मानिसले ध्यानको महत्व जान्दा–जान्दै पनि त्यसो गरेको हुँदैन । ध्यान त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ । ध्यानको महत्वलाई विश्वभर फैलाउन हरेक वर्षको डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने गरिन्छ । शनिबार पनि यस वर्षको ध्यान दिवस नेपालसहित विश्व मनाइएको छ ।
केही वर्षयता नेपालमा पनि ध्यान र योगको महत्व केही बढ्दै गएको छ । गाउँ–गाउँमा समेत ध्यान र योग शिविर सञ्चालन हुने गरेका छन् । यो आफैमा राम्रो हो । अब सबैले ध्यान गर्नु आवश्यक भइसकेको छ । ध्यान दिवस वर्तमानको आवाज हो, आजको समयको सन्देश हो । ध्यानबाट उर्जा प्राप्त हुनुका साथै मानसिक शान्ति, चिन्तामुक्त, कार्यक्षमतामा वृद्धि आदि सकारात्मक गुणको विकास हुन्छ । ध्यान शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान पनि हो । तसर्थ सफल जीवन जिउन र स्वस्थ रहन सधै ध्यान गरौं ।