Shittalpati
सामाजिक सद्भावको पर्व उधौली

नेपालमा मनाइँने हरेक चाडपर्वको आफ्नै महत्व र सन्देश रहेको छ । उधौली पनि एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाउँछन् ।

जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा यो पर्वलाई लिने गर्दछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व मनाइने चलन छ । किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु उगौली र उधौली हुन् । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने र उँधो भन्नाले तल बुझाउँदछ । नेपाली मौलिक संस्कृतिसँग जोडिएका हरेक  पर्वहरुको आ–आफ्नै सांस्कृतिक महत्व भएजस्तै यो  पर्वको पनि आफ्नै महत्व रहेको हो । उधौली पर्वले नेपालका सबै ठाउँमा रहेका किराँत समुदायका जातजाति, भाषाभाषीहरुमा एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गर्न सकोस् । पर्वको सांस्कृति महत्व कायम राख्दै देशमा शान्ति र सु–व्यवस्था स्थापना गर्नका लागि  उधौली पर्वले प्रेरित गर्न सकोस् सबैमा शुभकामना !

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update