प्राकृतिक सौन्र्दयताको श्रृखलायुक्त दृष्यले घेरिएको र संस्कृति र सम्पदाको खदीलो उपलब्धता भएको तानसेन अझै पनि मध्ययुगीन कालखण्डको शहर बजारको झल्को दिदै संघर्षशिल जीवन जिएको छ । सायद यही संघर्षको कथाले प्रभावित भएर हुन सक्छ युनेश्कोले सन् २००८ को जनवरी ३० मा विश्व सम्पदा सूचिको सम्भावित लिष्टमा समावेश गरेको छ ।
इतिहासलाई ८ औं देखी १८ औं शताब्दीसम्मको अवधिलाई मध्ययुगीन इतिहांस भनिन्छ र यही अवधिका सहर, संस्कृति, संरचना एवं इतिहास संम्वद्ध सम्पदाहरुलाई निकै महत्वका साथ लिने गरिएको छ । यसै अवधिमा व्यवस्थित बस्ती विकास, शहर र जीवनपद्धतीको विकास भएको मानिन्छ । यी अवधिका सामाजिक संरचना, आर्थिक क्रियाकलाप र पद्धती, राजनीतिक संयन्त्र र शासनपद्धती, सांस्कृतिक प्रचलन र पूर्वाधारहरु अहिलेको आधुनिक समाजका लागि निकै महत्वपूर्ण सम्पति बनेका छन् । तानसेन बजार पनि यही समयमा विकास भएको देखिन्छ । तानसेन ऐतिहासिक बजार हो । यो साँस्कृतिक र वास्तुकलाले धनी छ । यो त्यो समय देखिनै व्यापारको केन्द्र, संस्कृति र सिल्पकलाहरुले मध्ययुगकाालिन शहरको रुपमा परिचित र स्थापित भएको देखिन्छ । पुरानो थलो, पुराना मन्दिरहरु, नेवारी वास्तुकलाले मध्यकालिन शहरको रुपको प्रतिनिधित्व गर्दछ । शहरकोे निर्माण र संरचना हेर्दा साना र सांघुरा गल्लीहरु, कलात्मक झ्याल ढोकाहरु, शहरको केन्द्रमा व्यापारिक बजार, पहाडी क्षेत्रको स्वरुप अनुरुपको बजार विकास, बिचमा प्रशासनिक केन्द्र र त्यसको केन्द्रमा दरबार र परिसर, र यसैको वरीपरी आवश्यक वस्तुहरुको व्यापार गर्ने थलो भएको बजार तानसेन हो । धर्म संस्कृतिका हिसावले बिचभागमा भगवती मन्दिर, नारायण मन्दिर, गणेश मन्दिर जस्ता मठमन्दिर रहेको स्वरुपलाई मध्ययुगिन शहर वा बजारको विशेषता मानिन्छ । आधुनिक युगमा पनि शहर बजारको विशेषताका रुपमा त्यही बास्तुकला र बास्तुशास्त्र अनुसारको शहरी विकास अवधारणा अवलम्वन गर्ने गरिन्छ । यसर्थ तानसेनले प्राप्त गरेका यी सम्पदा र बजारको यो स्वरुप र विशेषतालाई संरक्षण सम्वद्र्धन गर्ने खालको नीति र कार्यक्रम हुनुपर्दछ । नकी हाम्रा सोच र कदमहरु यसलाई असर गर्ने स्वरुप र पहिचान मेटिने नहोस् भन्नेतर्फ सचेत बन्न जरुरी छ ।
मध्ययुगीन सहरका केही विशेषता र तानसेन ः माथि उल्लेख गरिएका मध्ययुगीन सहरका विशेषताहरुका सन्दर्भमा तानसेनको वजन कुन हदसम्मको रहेछ भन्नका लागि निम्न तरिकाबाट सहजरुपले बुझ्न सकिन्छ ।
१) हिजोका पुराना शहर बजारको विकास गर्दा सुरक्षा रणनीति अनुरुपका संरचना निर्माण हुनु –माटो र ढुंगाको पर्खाल हुनु, मुख्य प्रशासनिक केन्द्र प्रवेश ढोकाबाट प्रवेश हुनु, वा प्रवेश नियन्त्रणात्मक ढंगले निर्माण गरिनु, तानसेन दरवार र परिसर निर्माण यसै अनुरुप गरिएको छ ।
२) वास्तुकला र वास्तु शास्त्रका हिसावले निर्माण हुनु, बजारको बिचमा केन्द्र र वरीपरी वस्ती र विचभागमा संरचना अनि बजारको व्यवस्था गरिनु ।
३) साना गल्ली र बाटोहरुको निर्माण गरिनु ।
४) सामाजिक र आर्थिक क्षेत्रहरु अलग–अलग व्यवस्था गरिनु, जोडिएका घर, एउटै प्रकृति र शैलीद्धारा निर्माण गरिएका हुन्छन् ।
५) सामुदायिक भावना र पहल प्रवद्र्धनात्मक सबै आवश्यकता आपूर्तिको व्यवस्था गर्ने गरी समूहगत सामाजिक संरचनाको व्यवस्थापन गरिनु ।
६) शहरमा धार्मिक र आध्यात्मिक संस्था र सार्वजनिक स्थलहरुको व्यवस्था गरिनु ।
७) व्यापार व्यवसायमा प्रवेश गराउनु । व्यापार र यसै सम्वद्ध विविध आवश्यकता पूर्तिका लागि बाहिर जिल्लाबाट भएपनि व्यापार वा आपूर्ति प्रणालीको व्यवस्थाको व्यवस्थापन गर्नु र हाटबजार र प्रदर्शनी व्यवस्थाको व्यवस्था मिलाउनु ।
८) सार्वजनिक स्थलको व्यवस्था गर्नु, संरचना निर्माणमा यस्ता पक्षमा गम्भीरदेखिनु ।
९) खानेपानी र सरसफाइको चुनौती सामना गर्ने गरी दीगो उपाय खोजी गर्नु, त्यस्ता प्रविधि अवलम्वन गर्नु ।
१०) जनघनत्व र बसोवास संयुक्त परिवारमा रहनु । यसबाट विशेष प्रकारको व्यवस्थापन पद्धतीको अवलम्वन गर्नु ।
११) आवश्यक कलेज, विद्यालय पुस्तकालय र धार्मिक मठमन्दिरहरु नजिकै र जोडिएका हिसावले व्यवस्था मिलाउनु ।
१२) सैनिक उपस्थिति र शहरी बासिन्दाको सम्बन्ध सुमधुर बन्ने रणनीति अवलम्वन गर्नु ।
उल्लेखित विशेषताहरुलाई केन्द्रमा राखेर हेर्ने हो भने तानसेन बजारको विशेषता प्राचिन वा मध्ययुगिन संस्कृति, कला, सम्वद्ध सांस्कृतिक सम्पदा र संरचना भएको र यही विशेषताले तानसेनलाई विश्व सम्पदासूचिमा सूचिकृत गर्न सकिने बलिया आधारहरु भएका कारण अब तानसेनले यसबारेमा गाम्र्भीयता प्रदर्शन गर्नु पर्दछ । तानसेनको गाम्र्भीयतामा भर पर्दछ तानसेनमा पर्यटन विकास ।
यस कार्यमा झनै ठूलो मद्धतगारको रुपमा रहन सक्छ तानसेन नगरपालिकाले हालै गठन गरेको तानसेन नगर प्रज्ञा प्रतिष्ठान । तानसेन बजारको ऐतिहासिकताको मर्मलाई कमजोर हुन नदिन र यहाँको साँस्कृतिक मूल्य र मान्यतालाई संरक्षण गर्दै विश्वसम्पदा सूचिमा सूचिकृत हुने आधारहरु तयार गर्न आवश्यक सबै खाले पहल गर्नुपर्ने दायित्व पनि यस प्रतिष्ठानको रहने देखिन्छ । यसर्थ आफ्ना गतिविधि र क्रियाकलाप पनि यस पक्षलाई मध्यनजर राख्दै तय गर्नुपर्दछ । हुन त प्रतिष्ठान गठनको उद्देश्य र जिम्मेवारीमा भाषा, संस्कृति,कला, साहित्यको विकास र प्रवद्र्धन केन्द्रित भएपनि समग्रतामा तानसेनको संरचना, स्वरुप, पद्धतीले यी विषयको प्रतिनिधित्व गर्दछन् । यहाँ गरिने अधिकांश गतिविधिहरु अहिले पनि तानसेनको गौरवमय इतिहास लक्षित नै भएका देखिन्छन् । प्रतिष्ठानद्धारा गरिने हरेक क्रियाकलापका लागि सांस्कृतिक थलोको आवश्यकता पर्ने हुनाले श्रीनगरमा रहेको साँस्कृतिक डवली यो प्रतिष्ठान मातहत राख्ने व्यवस्था मिलाउन जरुरी देखिन्छ । तानसेन नगरको भौगालिक विस्तारसँगै अहिले नगर भित्र विभिन्न र जातजाती सम्वद्ध संस्कार संकृति, सांस्कृतिक मूल्य, मान्यताको समेत समायोजित रुप प्राप्त भएकाले पनि यसको व्यवस्थित अभिलेखीकरण र संरक्षण केन्द्रित प्रवद्र्धन गर्ने कार्यका लागि पनि यो जरुरी देखिन्छ ।
साथै प्रतिष्ठानद्धारा तानसेन दरवारमा रहेको पाल्पा संग्रहालयमा नगर भित्रका विशेष मूल्य र मान्यता बोकेका साहित्य, कला, संस्कार र संस्कतिहरुको बेग्लै कक्ष स्थापनाको सम्भाव्यता अध्ययन पनि आवश्यक देखिन्छ । दरबार संग्रहालयमा सोही पक्षलाई मद्दत वा सहयोग पुर्याउने व्यवस्थापकिय पक्षमा समेत मद्धत गर्ने रणनीति बनाउन सकिन्छ । साथै निजिस्तरबाट गरिएका संग्रहसहितको संरक्षणात्मक क्रियाकलापको व्यवस्थापनमा समेत प्रतिष्ठानले आफ्नो नजर पुर्याउनु जरुरी छ । किनकी निजी क्षेत्रसंगको सहकार्य वेगर संरक्षण, सम्वद्र्धन र विकासका कार्यमा स्थानीय सरकारलाई अगाडी बढ्न सहज हुँदैन । तानसेन जात्रैजात्राको बजार भन्ने उपमा पाएकाले पनि नगर भित्रका जात्रा, पर्व, र विशेष प्रकृतिका संस्कृतिको संग्रह, संकलन गरी तिनीहरुको लिपिवद्ध अभिलेखीकरण गर्ने र प्रकाशन गर्ने कार्य आवश्यक छ । जस्तै भगवती मन्दिरको पूजा विधि र रथयात्राको प्रक्रिया बेग्लै प्रकृति र पद्धतीमा गरिने हुन्छ यसको सार्वजनिक जानकारी हुन सक्यो भने मन्दिर दर्शन र रथयात्राका अवसरमा श्रद्धालुहरुको आकर्षण बढ्ने देखिन्छ । यसर्थ त्यस्ता प्रकृतिका संस्कृति सम्वद्ध दस्तावेज संकलन, गर्ने, ती सम्वद्ध गुठी जग्गा, अन्य गरगहनाका सम्पति र नगर सम्पतिको अभिलेखीकरण गर्ने कार्यमा सम्वद्धसँगको सहकार्यमा प्रतिष्ठानले भूमिका निर्वाह गर्न सक्छ । प्रतिष्ठानद्धारा कला,साहित्य संस्कृति, इतिहास सम्वद्ध क्षेत्रमा अध्ययन अनुसन्धान, सम्वद्र्धन, प्रवद्र्धनमा क्रियाशिल संघ संस्था, समूह, व्यक्तित्व लगायतको अभिलेखीकरण गर्ने र योगदानको पहिचान गर्ने र विशेष क्षेत्रमा विशेष प्रकृतिको भूमिका एवं योगदान गरेका कदमहरुलाई सम्मान जरुरी देखिन्छ ।
पाल्पाको अधिकाशं सम्पदाहरुको गहिरो सम्वन्ध विशिष्ट संस्कृति र संस्कारसँग रहेको हुनाले अध्ययन गरी अभिलेखीकरण गर्न जरुरी देखिन्छ । पाल्पा र विशेषगरी तानसेन नगर आफैमा प्रकृति संस्कृति र सम्पदाको धनी नगर हो । यसर्थ त्यस्ता सम्पतिको पहिचान, उचित र उपयुक्त व्यवस्थापनबाट तानसेनको समृद्धिमा योगदान पुग्ने हुनाले यस पक्षलाई बलपुर्याउने अध्ययन, क्रियाकलाप, अवधारणा, योजनालाई बलपुग्ने गतिविधि सञ्चालन गर्ने रणनीति तय गर्न आवश्यक देखिन्छ । प्रतिष्ठानले आफ्ना कार्यक्रम र कार्ययोजना निर्माण गर्दा दीर्घकालीन विकासका लागि केही आधारहरु तय गर्ने कार्यमा योगदान दिन सक्ने गरी निर्माण गर्न जरुरी देखिन्छ । (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)