जुनसुकै व्यक्तिलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । जसअन्तर्गत त्यस्ता अधिकारहरू पर्छन् जुन विश्वका सबै व्यक्ति, लिंग, जाति, भाषा, धर्म, रंग, राष्ट्रियता (नागरिकता), उत्पत्ति, सामाजिक एवं आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव बिना निहित रहन्छ । प्रत्येक व्यक्तिलाई न्यूनतम मानवीय मर्यादासहित हुर्कन, बाँच्न र जीवनयापन गर्नका लागि मानव अधिकारहरूको आवश्यकता पर्छ । जसको अभावमा प्रत्येक व्यक्तिलाई मानवको रूपमा जिउन कठिन हुन्छ । यस्ता अधिकार धनी, गरिब, ठूला, साना, काला, गोरा, महिला, पुरुष, बालक, वृद्ध सबैलाई उत्तिकै आवश्यक हुन्छन् ।
मानव अधिकारलाई नैसङ्र्गिक एवं मौलिक अधिकारका रूपमा विश्वभरि स्वीकार गरिनुका साथै मानवीय मूल्य र मान्यतालाई हरेक सभ्य समाजले स्वीकार गरेको छ । विश्वमा ठूलठूला क्रान्ति र घटनासहित परिवर्तन आएको दावा गरिए पनि मानव अधिकारका क्षेत्रमा भने खासै परिवर्तन आएको देखिदैन । यो अत्यन्तै दुःखको कुरा हो । आर्थिक विकास भयो भनियो तैपनि मानिसहरूमा कुपोषण व्याप्त छ, औषधोपचार नपाउँदा अकालमा मर्नु परेको छ । भोक, रोग मान्छेको नियती बनेको छ । भय र अभावमा उनीहरू बाँच्न विवश छन् । यस्ता समस्याबाट समाजलाई मुक्त गर्न तथा न्यूनीकरण गर्ने प्रयासले सार्थकता पाउन सकेको छैन । नेपालसहित विश्वभर हरेक वर्षको १० डिसेम्बरमा मानवअधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । आज पनि यो दिवस मनाउन लागिएको छ । सबैको जीवन सर्वाधिक महत्वपूर्ण हुन्छ । मानवजीवन यसै पनि महत्वपूर्ण छ । यस्तो जीवनलाई गरिमाका साथ व्यतित गराउन सकियो भने मात्र जीवन सार्थक ठहरिन्छ । तसर्थ, मानवजीवन उपभोग गर्दा गौरवको अनुभूति होस् भन्नका लागि केन्द्रमा मानव गरिमाको सम्मान स्थापित हुनै पर्छ । यसका लागि भय र अभावबाट मुक्ति हुन पाउनुपर्छ । यसरी मानवजीवन अभिशाप होइन, वरदान हो भन्ने अनुभूति गराउन सक्नुपर्छ । तर त्यसो हुन सकेको छैन । नेपालमा मानव अधिकार उल्लंघनका घटना बढ्दो छ ।
मानव अधिकार कार्यान्वयनको बलियो जग बसाल्न नसक्दा आमनागरिकले मानवअधिकारको प्रत्याभूत गर्न सकिरहेका छैन् । बरु कानुनी छिद्र खोजेर अपराधीहरूलाई संरक्षण दिने गरिएको छ । अपराधकर्म गरेका व्यक्तिहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनुपर्छ । दण्डहीनताको अन्त्य गर्न सकेमा मात्र मानव अधिकारको संरक्षण गर्न सकिन्छ । तसर्थ सरकार र सम्बन्धित निकायले मानवअधिकार संरक्षणका लागि तदारुकता देखाउन जरुरी छ ।