भ्रष्टाचार कुनै मुलुक विशेषको मात्रै नभई यो अन्तर्राष्ट्रिय समस्या बनेको छ । कमबेसी मात्र हो, भ्रष्टाचार धनी तथा गरिब दुवै खालका मुलुकमा विद्यमान छ । त्यसैले पनि भ्रष्टाचार विरुद्धको लडाइँ विश्वको चासो र सरोकारको विषय बनेको छ । अध्ययन हेर्दा विशेषगरी भ्रष्टाचारले गरिब र विपन्न नागरिकलाई बढी मात्रामा प्रभाव पारेको छ । भ्रष्टाचारले मुलुकमा राजनीतिक अस्थिरता बढाउनुका साथै लामो संक्रमणकालबाट गुज्रिएका मुलुकमा गरिबी झन् बढेको देखिन्छ । पछिल्लो समयमा त भ्रष्टहरूले सूचना प्रविधिलाई समेत दुरुपयोग गर्ने हैसियत बनाइसकेका छन् । क्षणभरमै राष्ट्रको ढुकुटी रित्तिन सक्ने अवस्था आएको छ । भ्रष्टाचार एउटा सामाजिक महारोग पनि हो । भ्रष्टाचारले गर्दा जनतामा चरम नैरास्य छाएको छ । सन् २०४८ साल देखी नै नेपाल डरलाग्दो र अनियन्त्रित भ्रष्टाचारको दलदलमा फसेको छ । यो अत्यन्त दुुखको कुरा हो । भ्रष्टाचार अन्त्यका लागि भन्दै हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि यस वर्षको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन् मौलाउदै गएको छ । भ्रष्टाचारकै कारण देशमा विकास, समृद्धि र शुसासन आउन सकेको छैन ।
भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्ल·न गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ । भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिना उत्पादन र मार्केटिङ भ्रष्टाचार मौलाउँदो उद्योग बनेको छ । यस्तो भ्रष्टाचारको जालोलाई तोड्न जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने हो भने भ्रष्टाचार रोक्नलाई कुनै समस्या छैनन् । घुस माग्नेहरुबाट नै सजग हुने हो भने केही हदसम्म भए पनि भ्रष्टाचार कम गर्न सकिन्छ । भ्रष्टाचार विरुद्ध हरेक नागरिक सचेत बनौ, गाउँपालिका र नगरपालिकाहरुमा विकास निर्माणको लागि छुट्याइएको बजेटको दुरुपयोग हुनबाट जोगाइ सहि ठाउँमा सदुपयोग गरौं । भ्रष्टाचारमुक्त समाज निर्माण गर्न भ्रष्टाचारविरुद्ध खबरदारी गरौं ।