Shittalpati
महिनावारी स्वच्छ र मर्यादित बनाऔं

बाँच्नका लागि अनिवार्य रहेका खानपान, श्वास–प्रश्वास, मलमूत्र विसर्जनजस्ता जैविक परिघटनाजस्तै प्रजननशील महिलाका लागि रजस्वला पनि शरीरको स्वाभाविक र अनिवार्य क्रिया हो । तर सृष्टि धान्ने यो चक्रलाई हाम्रो समाजले अझै पनि स्वाभाविक रूपमा स्वीकार गर्न सकेको छैन, जसका कारण महिलाहरू महिनावारीजन्य छुवाछुत तथा समस्याहरूबाट ग्रस्त भैरहनुपरेको छ । नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन  विभेद समेत सहनुुपरेको छ । महिनावारी बार्ने नाममा देशका अधिकांश महिलालाई अहिले पनि आधारभूत स्वास्थ्य तथा सरसफाइ, खानपान, आराम र बसाइका साथै न्यूनतम मर्यादाको अधिकारबाट समेत वञ्चित गराइएको छ । यसमा हाम्रा कतिपय धर्मशास्त्रका मान्यताहरूलाई मात्र दोष दिने ठाउँ छैन । किनभने धार्मिक आस्था पालना गर्न नरुचाउने र आफूलाई आधुनिक पुस्ताका मान्ने धेरै पुरुष नै आफ्ना पत्नी, बहिनी, छोरीलाई रजस्वलामा छोइछिटो गर्नेमा अग्रपंक्तिमा देखिन्छन् ।

संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य हुनुु दुुर्भाग्य हो । महिनावारीका कारण किशोरी÷महिला माथि गरिने विभेद, लाञ्छनाहरुलाई मर्यादित बनाउने उद्देश्यले हरेक वर्ष ८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मनाउने गरिन्छ । आज आइतबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ, तर पनि महिलाहरुले त्यो विभेद सहनुु परेको अवस्था कायमै छ । महिनावारी स्त्री शरीरको प्राकृतिक भाषा हो । तर, यसलाई अनेक भ्रान्ति र अन्धविश्वासका कथा जोडेर स्त्री शरीर र मनोविज्ञान माथि शासन गर्ने चक्रव्यूहलाई तथाकथित परम्पराको नाम दिइयो । महिलाको शरीरबाट महिनाको एक चक्रका हिसाबले प्रजननयोग्य उमेरभरि निस्कने रगत जैविक रूपमा जति स्वाभाविक छ, सांस्कृतिक रूपमा त्यति नै दुःखदायी र मर्मान्तकारी छ । महिनावारी भएका बेला छाउगोठमा बस्नुपर्ने भएकाले जीउज्यानकै असुरक्षा हुने, बलात्कृत हुने, मृत्यु हुने जस्ता भयावह घटनाका कारण यो परिवार वा समाजको मात्रै होइन, देशकै प्रतिष्ठासँग गाँसिएको प्रकरण बनेको छ । यसले स्त्री शरीर माथिको साँस्कृतिक उत्पीडन समाजको साझा चिन्ताको विषय हो भन्ने कुरालाई सबैले आत्मसात् गर्न आवश्यक छ । यसर्थ महिनावरीको अवस्थालाई स्वभाविक प्रक्रियाको रुपमा लिएर स्पच्छ र मर्यादित महिनावारी बनाई महिलाहरु सम्मानजनक रुपमा समाजमा बाच्न पाउने अधिकार सुुनिश्चित गर्ने विषयमा सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update