Shittalpati
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हट्यो

पाल्पा, ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पाल्पाले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राखेर विद्युत् विस्तार गरेसँगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको हो ।

ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुँदै आएको थियो । ग्रामीण क्षेत्रको लाईन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज बन्दै आएको बेला वितरण केन्द्र पाल्पाले लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको पहल र तानसेन नगर सरकारको समन्वयमा छुट्टै सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाएको हो ।

 तानसेनका विभिन्न स्थानमा तीन वटा नयाँ ट्रान्फर्मर राखेर केन्द्रले शनिबारदेखि विद्युत् आपूर्ति सहज बनाएको छ । लुम्बिनी प्रदेश सांसद वीरबहादुर  राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिका–१ बराङ्दीमा राखिएको मुख्य ट्रान्फर्मरबाट स्वीच अन गरेर नयाँ विद्युत्को विस्तार गरेका हुन् । विद्युत् सेवाको शुभारम्भ गर्दै प्रदेश सांसद रानाले गाउँको विद्युत्मा कतै फल्ड हुन साथ बजार नै अन्धकार बन्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले लामो संर्घष पछि वितरण केन्द्रले देखाएको सक्रियताका कारण विद्युत् आपूर्तिमा देखिएको समस्यामा सहज भएको उल्लेख गरे । सांसद रानाले भने ‘ तानसेन विद्युत् मुनिको अध्यारो जस्तै बनेको अवस्था थियो, गाउँमा विद्युत् अवरुद्ध हुन साथ बजार अध्यारो हुनुको साथै कुनै बेला भोल्टेज कम हुँदा साना मेसिन समेत चल्न नसक्ने अवस्थाको पिडा आम नागरिकले भोग्नु पर्‍यो, त्यो समस्यालाई मध्यनजर गरे अहिले विद्युुत् आपूर्ति सहज बनाउने काम भएको छ । वास्तवमा यसले बजार र ग्रामीण क्षेत्रका नागरिकलाई ठूला राहत मिल्ने मैले विश्वास लिएको छुु ।’ विद्युत् विस्तारका लागि आवश्यक बजेट विनियोजनमा पहल गरेका रानाले वितरण केन्द्रका प्रमुख र प्राविधिकहरुको तदारुकताका कारण समयमै सेवा विस्तार हुन सफल भएको भन्दै उनीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले  गाउँ र बजार क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या ढिलाई भए पनि समाधान गर्न सफल भएको बताए । उनले सेवा विस्तारमा पहल गर्नेहरुलाई धन्यवाद दिर्दै गाउँमा विद्युत् अवरुद्ध हुँदा अब बजारमा अध्यारोमा बस्न नपर्ने उल्लेख गरे । चार करोड लागतमा बजार र ग्रामीणबिचको विद्युत् आपूर्ति  सहज बनाइएको वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले बताए । उनले बजारको लागि  छुट्टै  फिडर निर्माण गरेको जानकारी दिए । श्रीनगरदेखि चिलाङ्दीसम्म एक सय वटा पोलहरु गाडेर बजारको लागि छुट्टै फिडर जडान गरिएको प्रमुख मरासिनीले बताए ।  उनका अनुसार जय दुर्गे निर्माण सेवाले उक्त निर्माणको कार्य गरेको हो । दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्न सफल भएको उनको भनाई छ । नयाँ विद्युत् विस्तारसँगै तानसेनमा अब नयाँ लोड थप गर्न सकिने भएकाले बजारमा विद्युत् आपूर्ति सहज हुने प्रमुख मरासिनीले बताए । बराङ्दी, गोर्खेकोट र चिलाङ्दीमा छुट्टाछुट्टै तीन वटा ट्रान्फर्मर राखिएकोले भोल्टेजको कुनै पनि समस्या नहुने उनको भनाई छ । लाईन विस्तार भएसँगै स्थानीय उपभोक्ताहरुमा उत्साह जागेको  तानसेन –१ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले बताए । उनले गाउँतिर लाइनमा समस्या आउन साथ बजारमा त्यसको प्रभाव पर्ने हुँदा आमनागरिकबाट गुनासो आउने गरेकोमा विद्य्त् विस्तारसँगै त्यसको अन्त्य भएको उल्लेख गरे ।    


 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update