अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् । विशेष गरी नागरिक उड्डयन प्राधिकरणले यो दिवसलाई विशेष महत्वका साथ लिने गर्दछ । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र र विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । तर नेपालमा हवाइ सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिएको छैन् ।
यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका उत्पन्न हुने गरेको छ । विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो । स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा दुर्घटना हुने गरेको हो । त्यति मात्र होइन कमजोर नियमन, व्यापारिक दवाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा पनि दुर्घटना दोहोरिने गरेका छन् । घटनाहरु दोहोरिन नदिनका लागि उड्डयन तथा हवाइ सुरक्षालाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यसका लागि स्तरीय हवाइ सेवाका लागि चाहिने भौतिक पूर्वाधार, विमानस्थलहरुको स्तरोन्नति, हवाई नियम र अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनुपर्छ । नेपालमा भएका पटक पटकका ठूला विमान दुर्घटनाले नेपालीहरुमा ठूलो चोट दिएको छ । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलाई विडम्बना नै मान्नुपर्छ । कम्तीमा उड्डयनका सन्दर्भमा भवितव्य बाहेकका क्षेत्रमा सतर्कता अपनाउने विषयमा सरकारले नीति, नियमलाई तय गरेर नेपाली नागरिक उड्डयनको विश्वासलाई विकास गर्नु अपरिहार्य छ । यसो गर्न सकियो भने मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्दछ ।