Shittalpati
रामपुरमा माटो परीक्षण गरियो

पाल्पा, जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र  पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।

‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएका शिविरमा नगरभित्रका किसानहरुले आफ्नो परीक्षण गराएका छन् । शिविरमा ४० स्थानको माटोको नमुना परीक्षण गरिएको थियो । माटो नमुना परीक्षणको क्रममा पि.एच.मान तटस्थ रहेको पाईएको कृषि ज्ञानकेन्द्र  पाल्पाका नायव प्रविधिक सहायक रविन बुढाले बताए । परीक्षण गरिएको अधिकांश नमुनामा खेतीको लागि आवश्यक नाईट्रोजनको मात्रा रहेको पाईए पनि फस्फोरस र पोटासको मात्रा कम देखिएको उनको भनाई छ । कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले नगरपालिका भित्रबाट ८२ वटा नमुना संकलन गरिएकोमा बाँकी रहेको नमुनाको परीक्षण कृषि ज्ञानकेन्द्रको प्रयोशालामा हुने बताए । शिविरको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले शुभारम्भ गरेका थिए । शिविर शुभारम्भ गर्दै अधिकृत पण्डितले माटो परीक्षण पश्चात आएको रिपोर्टको आधारमा उपचारको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका –५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रसायनिक मलको बढ्दो प्रयोगले माटो विग्रीएका कारणले बालीमा विभिन्न प्रकारका रोगको समस्या देखिएको उल्लेख गरे ।

         नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले माटोमा देखिएको समस्या समाधान गरी उत्पादकत्व वृद्धिमा शिविरले महत्वपूर्ण टेवा दिने बताइन् । कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्रा·ारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको बताए । पछिल्लो समय धेरै उत्पादन लिने लोभमा रसायनिक मल तथा विषादीको प्रयोग बढ्दै बोट विरुवाका लागि चाहिले तत्वहरु नष्ट हुँदै गैरहेको बताउँदै माटो उपचारका लागि समय मै परीक्षण आवश्यक रहेको उनले औल्याए । केन्द्रका निमित्त प्रमुख चौधरीको अध्यक्षता, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update