पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–३ पिपलडाँडाकी लिलामाया रानाले महिला स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो । उनले रातदिन नभनेर गर्भवतीदेखि ५ वर्षमुनिका शिशुको स्वास्थ्यबारे जिम्मेवारपूर्वक काम गरिरहेकी छन् । आफूहरूको जिन्दगी गाउँघरकै सेवामै बितेको रानाको भनाई छ ।
सुत्केरी हुँदा स्वास्थ्य संस्थामा जान सल्लाह दिने, आवश्यक परे लैजाने र घण्टौं कुरेर बस्ने गरे पनि कामअनुसारको सुविधा र सम्मान नभएको उनको गुनासो छ । ‘गर्भवतीलाई नियमित चेकजाँच गर्न लैजान्छौं । आइरन चक्की खुवाउँछौं । बच्चालाई पोलियो खुवाउने गर्छौं । आफ्नो टोलका स्वास्थ्यसम्बन्धी अधिकांश कामको जिम्मा हामीहरूले नै लिएका छौं,’ उनले भनिन्, ‘रात दिन घरपरिवार छाडेर सेवा गरिरहेका छौं ।’ कामअनुसारको सम्मान र सुविधा नपाएको उनले बताइन् । ‘हामीहरूलाई खासै सुविधा मिल्दैन,’ उनले भनिन्, ‘आफ्नो परिवार धान्नै गाह्रो पो हुन्छ ।’ पोशाक खर्च भनेर वार्षिक १० हजार रुपैयाँ मात्र सरकारले दिने गरेको उनको भनाइ छ । माथागढी गाउँपालिका रुप्सेकी यमकला बस्यालको गुनासो पनि उस्तै छ । बस्याल विगत ९ वर्षदेदिख महिला स्वयंसेविकाको जिम्मेवारीमै छिन् । उनले आफ्नो टोलका गर्भवती महिला, शिशु र जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुको आश्यक उपचार गर्न सम्बन्धित स्वास्थ्य संस्थामा जान सल्लाह दिने, गर्भवतीलाई नियमित चेकजाँच गर्ने, आइरन चक्की खुवाउँने, बच्चालाई पोलियो खुवाउने यी सबै काम उनको हो । तर आफ्नो कामअनुसारको दाम नभएको पीडा उनमा पनि छ । ‘समाजकै लागि जीवन दिएका छौं । सरकारले हामीहरूलाई पनि केही सुविधा र सहयोग गरेको भए राम्रो हुने थियो,’ उनले भनिन्, ‘हाम्रो पनि घरपरिवार छ । बिहान उठ्नासाथ काममा जान्छौं तर सबै सेवा निःशुल्क दिन्छौं । आफ्नो परिवारको पनि चिन्ता छ ।’ उनले स्थानीय सरकारले स्वास्थ्य विमामा ५० प्रतिशत, संघीय सरकारले ५० प्रतिशत छुट दिएको, स्थानीय र संघीय सरकारबाट मासिक एक ÷एक हजार यातायात भत्ता दिने गरेको र अरु सुविधा नभएको बताईन् । आजीवन सेवा गरेपनि बुढेसकालमा रित्तो हात फर्कनुपर्ने अवस्था रहेको रैनादेवी छहराकी मिना थापाको गुनासो छ । ‘उमेर छउन्जेल काम गर्छाै बुढेसकालमा रित्तो हात फर्कनु पर्छ’ उनी भन्छिन् ‘सरकारले हाम्रा लागि केही सोचिदियोस् ।’ उर्जाशील उमेरमा गाउँ–गाउँ हिँडेर स्वास्थ्य शिक्षा प्रदान गर्ने स्वयंसेविका सेवापछिको जीवनलाई लिएर चिन्तित छन् । गाउँमा हँसिलो मुहारका साथ जनचेतना फैल्याउदै हिँड्ने स्वयंसेविका भित्री हृदय भने पीडादायी छ । थापा भित्री मनमा पीडा भए पनि बाहिर हाँसेरै गाउँ गाउँ पुग्नुपर्ने बताउँछिन् । लिलामाया, यमकला र मिना मात्र होइन, जिल्लाका ६ सय २५ महिला स्वास्थ्य स्वयंसेविकाको अवस्था एउटै छ । उनीहरूले मिहिनेतअनुसारको पारिश्रमिक पाउन सकेका छैनन् ।
स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान महत्वपूर्ण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले बताए । स्वयंसेविकाहरुको लागि तलव नभए पनि सरकारले वार्षिक रूपमा पोसाक खर्च भनेर १० हजार रकम भने दिने गरेको उनले बताए पोखरेलका अनुसार ६० वर्ष पुगेपछि स्वयंसेविकाहरुको प्रोत्साहनका लागि संघीय सरकारले २० हजार र प्रदेश सरकारले ५० रकम दिने गरेको छ । साथै अहिले स्थानीय सरकारले पनि स्वयंसेविकाहरूलाई सहयोग गर्ने गरेको पोखरेलले बताए । ‘तलब भनेर नदिए पनि खाजा खर्च, यातायात भाडा भनेर जिल्लाका अधिकांस स्थानीय तहहरूले रकम छुट्याएका छन्,’ उनले भने । स्वास्थ्य विमामा समेत उनीहरुलाई छुट रहेको पोखरेलले बताए । सरकारका यस्ता सहयोगले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको सम्मान हुँदै गएको उनको धारणा छ । यद्यपी सरकारले न्यून मात्रमा सेवा सुविधा दिर्दै आए पनि उनीहरुको योगदान र भूमिकाको उचित कदर भने हुन सकेको छैन् । नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई सरकारले उचित मात्रामा पहिचान र सम्मान दिन भने सकेको देखिन्न । हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्षको दिवस विहीबार मनाइयो । यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनिय छ । खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् ।