पाल्पा,आज विश्व मुख स्वास्थ्य दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष २० मार्चमा हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दैै दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ । पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मुखको स्वास्थ्यबारे जानकारी नहुँदा विभिन्न रोगको संक्रमण देखिने गरेको पाइन्छ । सर्वसाधरणलाई मुख र दाँतको सरसफाइको महत्वबारे जानकारी गराउने उद्देश्यले दिवसमा विभिन्न कार्यक्रम हुने गर्दछन् । शिक्षा, स्वास्थ्य चेतना अभावका कारण नेपालीहरुमा मुखको सरसफाइ दाँतको सफाइ गर्ने बानीको विकास हुन नसक्दा दाँतको समस्या, मुखका घाउ खटिराको समस्या देखिने गरेको छ । यति मात्र होइन खैनी, सुर्ती सेवन गर्ने बानीका कारण मुख, जिब्रोको क्यान्सर समेत हुने गरेको परिप्रेक्ष्यमा गुणस्तरीय जीवनयापनका लागि आवश्यक ज्ञान र चेतना विस्तारका लागि पनि यो दिवस महत्वपूर्ण हुने गर्दछ । विभिन्न अध्ययनहरुले मुखको स्वस्थ राख्ने कुरामा हेल्चेक्र्याई गरिंदा विभिन्न स्वास्थ्य समस्या जटिल रुपमा बढ्दै गइरहेको पाइएको छ । मुखको स्वास्थ्य हरेक मानिसको आवश्यकतावोध गराउने र मुख स्वस्थ राख्ने सुविधा र पहुँच ग्रामीण तहसम्मका नागरिकमा पुर्याउन सरकारलाई नीति निर्माणमा बाटो देखाउनका लागि पनि यस दिन कार्यक्रम हुने गर्दछन् ।


