Shittalpati
माटो जोगाऔं

पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । माटो मानविय  जीवनको मूल आधार हो । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ । अहिले नै, संसारभरिकै ४० प्रतिशत माटो खोतीयोग्य छैन । सबैतिर माटो मर्ने क्रम तीव्र छ । यदि यस्तै अवस्था रहेमा सन् २०५० सम्ममा सतहको ५० प्रतिशत माटो मरुभूमि भइसक्ने आकलन छ । अहिलेसम्म नेपालको कति प्रतिशत माटो मरुभूमीकरण भयो यसको यकिन कुनै तथ्यांक नभए पनि वन फडानी, कृत्रिम रसायन र विषादीमा आधारित भएर गरिएको एकल र सफा खेतीका कारण बर्सेनि लाखौं टन मलिलो माटो हाम्रो खेतबारीबाट पलायन भएको छ । यस्तो अवस्थामा कृषिको उत्पादन र उत्पादकत्व बढाउन माटो जोगाउनु सरकारको मुख्य प्राथमिकता हुनुपर्ने हो । तर सरकारले यसतर्फ कुनै पनि बाटो तय गरेको छैन । बरु कृषियोग्य माटो मार्ने कृत्रिम रसायन र विषादीको वर्षा गराउँदै कृषि सपार्ने धुन अलापेको पाइन्छ । यो अत्यन्त विडम्वनाको कुरा हो ।

माटोको महत्वलाई बुझाउन कार्यक्रम हुने नगरेका होइनन् । तर घट्दो उर्बराशक्ति बढाउनतर्फ कसैको पनि ध्यान छैन् । हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ । आज विहीबार पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । तर दिनहुँ घट्दै गएको माटोको उर्बराशक्ति बढाउनेतर्फ कसैले पनि चासो नदेखाउनु जति दुखद् पक्ष अरु कुनै हुन सक्दैन । तत्काल बढी उत्पादन लिने लोभले अनियन्त्रित रूपमा रासायनिक मल प्रयोग गर्ने होडले माटोको उर्वराशक्ति घटिरहेको छ । बालीनालीका बोट खेतमा जलाउँदा माटोको गुणस्तर तथा उर्वरा सन्तुलन कायम गर्ने सूक्ष्म जीवहरू मर्नाले र एउटै किसिमका मात्र बाली पटक–पटक लगाइरहनाले पनि माटो वञ्जर बन्दै गएको छ । यही गतिमा उर्वर माटो बिग्रिँदै गए खाद्य उत्पादनमा ठूलो प्रभाव पर्ने  र मुलुकमा खाद्य संकट समेत देखा पर्ने अवस्था आउन सक्छ । तसर्थ खेतबारीमा हरियो मल, गोबर तथा प्रांगारिक मलको बढी भन्दा बढी प्रयोग बढाई  रासायनिक मलको प्रयोग कम गरी माटो संरक्षणमा सबैले ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update