गुल्मी, गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् । उनीहरुले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जे जस्ता सपना देखाए, साढे दुई वर्षपछि पनि ती सपना मात्रै छन् । केही यस्ता स्थानीय सरकार पनि छन्, जसले निर्वाचनका बेला जनतासँग गरेका वाचाहरु प्रथामिकतामा राखेर धमाधम काम गरिरहेका छन् ।
गुल्मीको सुदुरपूर्वमा रहेको कालीगण्डकी गाउँपालिकाले निर्वाचनका बेला जनप्रतिनिधिले गरेका थुप्रै वाचाहरु पुरा गरेको छ भने केही पुरा गर्ने क्रममै छ । विशेषतः पालिकाले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा गरेका वाचाहरुलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । निर्वाचनका बेला घोषणापत्रमा उल्लेख भए अनुसार पालिकाका सबै वडा,टोलहरुमा सडक पहुँचका कार्यहरुलाई समेत पालिकाले निरन्तर रुपमा अगाडि बढाएको छ । अहिले सातैवडामा सम्पन्न भएका योजनाका दीगोपन र नयाँ योजना सम्झौताका कार्यहरु भई रहेको छ । निर्वाचनका बेला जनतासँग गरेका वाचा अनुसार नै पालिकाले काम गर्दैै आएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए । उनले धेरै वाचाहरु पुरा गरेको र केही पुरा गर्ने क्रममा आफुहरु रहेको उल्लेख गरे । अध्यक्ष थापाले भने ‘हामीले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा जनतासँग गरेका वाचाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं, त्यसपछि भौतिक पुर्वाधारका अवधारणालाई अगाडि बढाएका छौ ।’ जसका कारण बसाइँसराई, स्वास्थ्य र शिक्षाका क्षेत्रमा केही नयाँ परिवर्तनहरु देखिएको उनको भनाई छ । सबै सामुदायिक विद्यालयहरुमा नियमानुसारको सेवा सुविधा र विषयगत शिक्षकहरुको व्यवस्था गरी गुणस्तरीय शिक्षाका लागि पहल गरिएको अध्यक्ष थापाले बताए । उनले भने ‘हामीले एक घर एक धाराको अवधारणालाई अगाडि बढाएका कारण अहिले धेरै जसो वडाका वासिन्दाले घरघरमै स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन् । निर्वाचनका बेला हामीले पहिलो प्राथमिकताका आधारहरु यसैबाट निर्धारण गरेका थियौं ।’ खानेपानीका लागि गोर्खा वेलफेयर ट्रष्ट र नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक र आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष थापाको भनाई छ । सूचना र प्रविधिका क्षेत्रमा नेपाल टेलिकमका टावरहरुको स्तरीकरण, अफ्टिकल फाईवर जडान गरी गुणस्तरीय इन्टरनेट सेवामा समेत पालिकाले महत्वपूर्ण कार्य गरेको छ । जसले गर्दा सूचना र प्रविधिका क्षेत्रमा पालिकाले थुप्रै प्रभावकारी काम गर्न सफल भएको छ । यहाँका स्वास्थ्य चौकीहरु समेत प्रविधि मैत्री बनेका छन् । पालिकाले वडाकार्यालयहरुको क्षमता वृद्धिका लागि आवश्यक प्राविधिक तथा जनशक्तिको कमीलाई परिपुर्ति, सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत भूक्तानीको व्यवस्था, व्यवसायिक कृषहरुलाई प्रोत्साहन, बेमौसमी तरकारी उत्पादन, बजारीकरण, राष्ट्रपति शैक्षिक सुधार कार्याक्रमलाई निरन्तरताका साथ अगाडी बढाएको जनाएको छ ।
पुर्तिघाट शान्तिपुर सडक निर्माणको क्रममा घर क्षति भएका वासिन्दाका लागि पुर्नवासको व्यवस्था, विपन्न परिवारलाई, औषधी उपचारको व्यवस्था, विपतमा परेका नागरिकलाई राहत, लघुउद्यम विकास कार्याक्रमबाट ४८ जना महिलालाई उद्यमी बनाउने जस्ता जनमैत्री काम गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामीले बताइन् । उनले स्थानीय सरकार एक्लैले सम्पन्न गर्न नसक्ने योजनालाई डिपिआर तयार गरेर प्रदेश तथा संघीय सरकार समक्षमाग गरिएको, बहुउद्देश्यीय सभाहल, अपांगता, अशक्तका लागि भत्ता, नवजात छोरीको खातामा निजको आमा संरक्षक रहने गरी जन्मना साथ पाँच हजार प्रदान, कृषिमा यान्त्रिकीकरण, कुटानी पिसानीको सुलभ व्यवस्था, कृषि ज्ञानकेन्द्रसँगको समन्वयमा नयाँ–नयाँ काम समेत गरिएको बताइन् । गौरवको आयोजना कालीगण्डकी ए, जलविद्युत आयोजनाबाट प्रभावित र अति प्रभावित सातै वडाका वासिन्दालाई नेपाल विद्युत प्राधिकरणबाट प्राप्त हुने वार्षिक रोयल्टीवापतको रकमलाई व्यवस्थित र पारदर्शी रुपमा वितरण गरी, महिला, युवा र बेरोजगारका लागि प्रत्यक्ष रोजगारीको व्यवस्थापन मिलाइएको उपाध्यक्ष दर्लामीको भनाई छ । ग्रामिण जनताका मागलाई मध्यनजर गरी भौतिक विकासका साथै सामाजिक र शैक्षिक विकासमा जोड दिइएको प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीले बताए । उनले भने ‘हरेक विकासका योजना निर्माण गर्दा र कार्यान्वयन गर्ने क्रममा व्यापक जनसहभागिताका साथै कार्यपालिकामा व्यापक छलफल र सल्लाहका आधारमा काम गर्दै आएका छौं ।’