मुलुकको व्यापार घाटामा ठूलो खाडल रहेको अवस्थामा बंगलादेशमा विद्युत् निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ । गत शुक्रबारदेखि नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत् निर्यात हुन थालेपछि अर्थतन्त्रमा लाभ हुने आशा पलाएको हो ।
गत असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौताको करिब डेढ महिनापछि नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाएको हो । विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ । छिमेकी मुलुक भारतसँग यसअघि नै बिजुली आयात–निर्यात हुने गरेको भए पनि सीमा नजोडिएको तेस्रो मुलुकसम्म नेपालको बिजुली निर्यात हुनु कोसेढुंगा हो । यद्यपि, यस वर्षका लागि नेपालबाट बंगलादेशमा बिजुली बेचिने शुक्रबार नै अन्तिम दिन हो । अब आगामी जुन १५ पछि मात्रै पुनः विद्युत् बेचिनेछ । यस वर्ष एकदिन मात्रै विद्युत् निर्यात भए पनि यसले नेपालको अर्थतन्त्र र विद्युत् बजारमा दीर्घकालीन प्रभाव पार्न सक्नेछ । किनकि विद्युत् निर्यातबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीले नेपालको व्यापार घाटा कम गर्न, विदेशी मुद्रा सञ्चितिमा वृद्धि गर्न र आर्थिक स्थायित्व कायम गर्न मद्दत पुर्याउँछ । अधिकांश वस्तुमा मुलुक परिनिर्भर रहेको अवस्थामा विद्युत्मा आत्मनिर्भर भएर निर्यात हुनु सुखद पक्ष हो । खाद्यान्नदेखि हरेक वस्तु पूर्ति गर्न छिमेकी र अन्य देशमा भर पर्नुपर्ने नेपालको नियति छ । जसका कारण व्यापार घाटा बढाउन सघाएको छ । व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक । यस्तो अवस्थामा विजुली निर्यातको बढ्दो ग्राफले भने केही आशा जगाएको छ ।
सरकारले कैयौंपटक प्राधिकरणको अर्बौंको घाटालाई अपलेखन गर्दै सामान्य बनाउने प्रयास गरे पनि प्राधिकरणले खर्च धान्न सक्ने स्थिति थिएन । विद्युत आपूर्ति बढेसँगै प्राधिकरणको वित्तीय अवस्थामा सुधार हुँदै जाने निश्चित छ । प्राधिकरणको नाफा वृद्धि र बंगलादेशमा विद्युत निर्यात बढेको पृष्ठभूमिमा प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार मात्रै हुने छैन, नेपालको व्यापार घाटा न्यूनीकरणमा पनि सहयोग पुग्ने छ । उत्पादन र व्यापार रणनीति ठिक भए भोलि उज्यालो दिन छ है भन्ने संकेत गर्नु सकारात्मक पक्ष हो । उसै त नेपालको निर्यात व्यापार चिन्तालाग्दो छ । बढ्दो आयातले मुलुकको आर्थिक अवस्थामा अत्यन्त कमजोर भइरहेका बेला विजुली निर्यातले पक्कै पनि आशाको सञ्चार गराउन काफी छ । यसलाई निरन्तरता दिन सकियो भने पनि मुलुकको अर्थतन्त्रमा अवश्य पनि लाभ हुने निश्चित छ ।