हरेक वर्ष मंसिर १ गतेलाई कर दिवस मनाउने गरिन्छ । वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । यस वर्ष ‘कर प्रणालीको सार : लगानीको आधार’ भन्ने नाराका साथ आन्तरिक राजश्व विभाग अन्र्तगतका देशैभरका करदाता सेवा कार्यालयहरुले कर दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरी मनाउँदै छन् । समग्र कर प्रशासनलाई सुधार गरी यसको दायरा फराकिलो पार्नु कर दिवसको मूल उद्देश्य हो । तर दिवसले उद्देश्यलाई नै छुन सकेको छैन । हरेक वर्ष उद्योगी–व्यवसायीको सम्मान गरेर मात्र यो दिवस मनाइन्छ । पछिल्लो समय कर प्रशासनमा देखिएको खेलाँचीले दिवसको नै खिल्ली उडाएको छ । पछिल्ला वर्षहरूमा राजस्व चुहावटका घटनाहरू बढ्दै गएका छन् । तर, त्यसअनुसारको अनुसन्धान गरी चुहावटलाई रोक्ने यथेष्ट प्रयास भएको देखिँदैन । सबैभन्दा धेरै राजस्व बुझाउने निजी क्षेत्र सधैं गुनासो गरिरहेको छ । स्वतःस्फूर्त राजस्व बुझाउने वातावरण बनाउन उसले सरकारलाई घचघच्याउन थालेको वर्षौं भइसकेको छ । सरकारले राजस्वको लक्ष्य बढी तोक्ने र निजी क्षेत्रलाई करकाप र जबजस्र्ती गरेर लक्ष्य पूरा गर्ने सरकारको रबैया फेर्नुपर्ने आवाज निजी क्षेत्रको छ ।
कर दिवसलाई सार्थक बनाउन सरकार र करदाताको भूमिका सबैभन्दा महत्वपूर्ण रहने हुँदा विद्यमान समस्या र चुनौतीको सामना गर्दै व्यावसायिक कर प्रशासन विकासका लागि दुबै पक्षबीच परिणामूलक सहकार्य जरुरी छ । कर प्रशासनलाई अझ बढी व्यावसायिक, सक्षम, सुदृढ र करदातामैत्री प्रशासनको रुपमा स्थापित गर्न सबै प्रतिबद्ध र एकजुट हुनुुपर्छ । त्यसैगरी करदातामा रहेको कर छल्ने, कर तिर्न अटेर गर्ने, स्किम कुरेर बस्ने प्रवृत्तिबाट माथि उठी कर राज्य सञ्चालनको आधार हो र संकलित कर समयमा तिर्नु हामी सबैको दायित्व हो भन्ने सन्देश दिन सकियो भने मात्र हरेक वर्ष मनाइने राष्ट्रिय कर दिवसको सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित नहोला भन्न सकिदैन ।