Shittalpati
बुटवलले  विर्सेको इतिहास ?

भारतमा व्यापारको निहुँमा प्रवेश गरेका अंग्रेजहरुले विस्तारै त्यहांँको व्यापार मात्र होइन सत्ता समेत कब्जा गरे । त्यही दौरानमा अंग्रेजहरु भारतबाट नजिक पर्ने अन्य राष्ट्रमा समेत व्यापारको साम्राज्य विस्तार गर्ने चाहाना अनुरुप तिब्वतमा प्रवेश गर्न चाहान्थे र यसका लागि नेपाल सहज सरल र छोटो बाटो मानिन्थ्यो । अब अंग्रेजहरु यही बाटोको लागि नेपाल प्रवेश गर्न चाहान्थे र विभिन्न हथकण्डा प्रयोग गर्न थालेका थिए । कहिले कुटनीतिक त कहिले सामरिक कुटनीति वा कुनै पनि विधिले काम गर्न सकेको थिएन तथापी उनीहरुको पहल निरन्तर चलिरर्‍यो । यही क्रममा उनीहरुको सबै भन्दा बढी ध्यान केन्द्रित भएको स्थान थियो रुपन्देहीको स्यूराज हुदै बटौली क्षेत्र । तत्कालिन सेन राजाहरुको पालामा शसक्त प्रभावशाली र सवल राज्यको रुपमा रहेको पाल्पामा तोकिएका तैनाथवालाको अदली बदली समेत छिटो छिटो भएकाले पनि हुन सक्छ अंग्रेजहरुको प्राथमिकता पाल्पा क्षेत्र वा बटौली नाका परेको अनुमान गर्न सकिन्छ । 

रुपन्देहीमा रहेर लामो समयदेखी इतिहास र संस्कृतिको अध्ययन गर्दै आएका युवराज कडेंलले अक्टोवर २८ को दिन फेसबुकमा एउटा स्टाटस  लेख्दै भन्नुभयो ‘आज बुटवलको लागि खास दिन हो.। बुटवलको पृष्ठभूमि वा विकासको आधार खोज्दै जांदा प्रथम त बटौलीको पृष्ठभूमि फेला पर्छ । यसको अर्थ के हो भने बुटवल बन्नु पूर्व बटौली बनिसकेको थियो । बुटवलको खास दिन भनेकै बटौलीको इतिहासले छोडेको विरासतयुक्त विशेष दिन हो । यसो भन्नुको तात्पर्य के हो भने बटौलीको इतिहास बजार वा व्यापारसँग मात्र जोडिएको इतिहास नभै यो त देशकै इतिहाससँग महत्वपूर्ण सरोकार राख्ने पक्ष पनि हो ।’ अब अक्टोवर २८ लाई किन विशेष दिन मान्नुपर्ने हो भन्ने बारेमा उहाँ लेख्नु हुन्छ ‘बुटवलको जग्गाको बारेमा नेपाल र अंग्रेजविचमा कुरा नमिलेपछि अंग्रेजले वि.स. १८७१ बैशाख १२ गते बुटवलमा आफ्नो प्रहरी चौकी खडा गरेको थियो । सुबेदार मनिराज मास्के (फौजदार) को नेतृत्वमा एक महिनापछि (जेठ १८ गते) प्रहरी चौकी/ठानामा आक्रमण गरि चौकी हटाएका थिए.। आफ्नो थानेदारलाई मनिराजले बर्बरता पुर्वक हत्या गरेको भन्दै अंग्रेज आक्रोशित भएर उनलाई सुपुर्दगी गर्न नेपाल सरकारलाई आग्रह गर्‍यो ।  नेपालले नमानेपछि यसलाई समेत एउटा कारण बनाएर अंग्रेजले नेपाल विरुद्ध युद्ध शुरु गरेको थियो । उनी मनिराज वि.स. १८७१ को आजैको दिन (अक्टोबर २८) मा अंग्रेज विरुद्ध लड्नको लागि फौज लिएर पाल्पादेखि बुटवलमा आएका थिए । तिलपुर प्रगंनाका तहसिलदार मिर्जा हुस्सेन उल बेगले गोरखपुरका कलेक्टरलाई पत्र लेखेर यो कुराको जानकारी  दएका थिए । यहि अनुसार जनरल उडले लडाईको तयारि गरेका थिए.। ’

उल्लेखित ऐतिहासिक उदाहरणलाई मात्र हेर्दा पनि मनिराज फौजदार व्यापार गर्ने व्यापारी मात्र नभएर बटौली नाका जोगाउने एक महत्वपूर्ण व्यक्तित्व पनि रहेको पुष्टि हुन्छ । अंग्रेजहरुले उनलाई नै लक्षित गरेर युद्धरणनीति बनाई आक्रमण गरेको देखिन्छ । सायद मनीराजलाई यही पक्षले पनि हुन सक्छ अंग्रेजहरुलाई जसरी पनि हराउनुपर्दछ भन्ने लक्ष्य लिएर कर्णेल उजिरसिह थापासँगै युद्धमा होमिएका थिए । एकजना व्यापार व्यवसाय गर्ने व्यापारी मुलुक जोगाउनका लागि जसरी सक्रिय बन्यो र युद्धमा होमी यो त्यो समग्र व्यापार व्यवसाय गर्ने हरेकका लागि समेत गौरव गर्ने विषय हो । विशेषगरी रुपन्देहीका व्यापारी एवं सम्वद्ध सबै संघ संस्थाहरुका लागि यो विचारणीय पक्ष पनि हुनुपर्दछ । यसैले पनि अक्टोर २८ लाई यो क्षेत्रले सम्झना गर्दै उनकै सक्रियतामा बनेको निमचौक र नजिकैको मननारायण मन्दीरमा दीपप्रजोलन गर्दा इतिहासको सम्मान हुने छ भने यो क्षेत्रको वजन र गरिमा पनि बढेर जाने देखिन्छ । त्यसैगरी बुटवल ऐतिहासिक र सांस्कृतिक सम्पदाले सम्पन्न हुनुमा महत्वपूर्ण योगदान बटौली क्षेत्रलेनै गरेको छ । यही क्षेत्रमा सेनवशिय शासनकालका सम्पदा, राणाकाल अगाडी र पछाडीका सम्पदा र मनीराज स्यंमले स्थापनागरेको मननारायण मन्दीर र मन्दीरकालागि राखिएको गुठी जग्गा साथै विशेष महिमा सहितको गणेशमन्दीर, शिवमन्दीर लगायतका धार्मीक तथा आध्यात्मिक सम्पदाहरु साथै बटौली बजार भएकै कारण बुटवल उपमहानगरपालिकाले समेत सो दिनमा विशेष संस्मण कार्यक्रम गर्दा इतिहासको सम्मान हुनेछ । हरेक स्थानीय सरकारहरुको दायित्व पनि हो आफ्ना ऐतिहासिक पक्षहरुको खोजी गर्ने, संरक्षण सम्वद्र्धन गर्ने । कहिलेकाही अपुष्ट भनाई पनि सुन्नमा आउछकी मनिराजकै सक्रियता र पहलमा बटौली गढीको निर्माण गरिएको थियो जहाँ अग्रेजहरुसँगको अन्तिम युद्ध भई सुगौली सन्धि भएको थियो ।

 मनिराज सामान्य व्यापारी होइनन् भन्ने त केही ऐतिहासिक दस्तावेजहरुले प्रष्ट पार्दछन् । यसर्थ इतिहासका जानकार, सोधकर्ता र सम्वद्ध संस्थाहरुले उनको लुकेको इतिहास खोजी गरी यथार्थ बाहिर ल्याउनु पर्दछ । अन्यथा इतिहासकारहरुलाई महत्वपूर्ण इतिहास लुकाएको आरोप लाग्न सक्छ । यसैगरी स्वयम मणीराजका सन्तती छन् भने पनि उनीहरुले उनकै पुर्खाको यस प्रकारको महत्वपूर्ण एतिहासिक पृष्ठभूमिलाई गुमनाम हुन नदिइ खोजबिनमा चासो राख्नु पर्दछ । मणीराजको इतिहासको खोजी गरी उनको राष्ट्रका लागि योगदान, बटौली बजार विकासमा भूमिका र मननारायण मन्दीर निर्माण र मन्दिरका लागि राखिएको सयौं विघा गुठी जग्गाको अद्यावधिक गर्दै उचित व्यवस्थापन गरी मननाराणको रथ यात्रा कम्तीमा नगरपालिका क्षेत्र भित्र गर्ने व्यवस्था मिलाउने, हरेक दिन आरतीको व्यवस्था मिलाउने र मनिराजले अन्य क्षेत्रमा स्थापना गरेका मन्दिरहरु र मन्दिरका लागि राखिएका गुठी जग्गाहरुको खोजी गरी धर्म संस्कार र संस्कृति प्रति मनिराजको लगावको सम्मान गर्न जरुरी छ । कतिपय स्थानमा इतिहास र संस्कृति संरक्षणका लागि विभिन्न संघ संस्था क्रियाशिल हुने गरेका छन् । रुपन्देहीमा पनि यस्ता संस्थाहरुले इतिहास र संस्कृतिका पक्षमा विषयगत छलफल, अध्ययन अनुसन्धान र शोध गर्ने कार्यलाई मद्धत गरिरहेको देखिन्छ । उनीहरुको नजर र ध्यान पनि यसतर्फ जानु जरुरी देखिन्छ ।

अन्त्यमा अक्टोवर २८ लाई नगरपालिकाको समन्वयमा स्मृति दिन वा दिवसको रुपमा मनाउने कार्यको थालनी होस् र अन्य सम्वद्ध क्षेत्रबाट यो दिनको महत्वकाबारेमा चर्चा गरिने कार्यको थालनी होस् । इतिहास देखिने मात्र होइन महशुस गरिने पक्ष पनि हो । आफ्ना पुर्खाले देश जनता र स्वतन्त्रताका लागि लडेका वा जीवन आहुती दिएको सम्झना गर्ने राष्ट्रहरु नै बलिया र समृद्ध राष्ट्र गनिएको देखिन्छ । नेपालमा पनि यसको जरुरी छ । (लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।) 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update