डेंगु संक्रमणको जोखिम अझै कायम नै छ । कार्तिक महिना सकिन लाग्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । विशेषतः डेंगुको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म रहने भनिए पनि नोभेम्वर महिनाको दोस्रो हप्ता सकिन लाग्दा समेत डेंगुका विरामीहरु भेटिएका छन् । यस वर्ष मात्र २२ हजारभन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् । देशका ७६ जिल्लामा फैलिएको संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा हरेक वर्ष डेंगु संक्रमणको चपेटामा आम नागरिक पर्नु विडम्बना हो ।
डेंगु रोग एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु ज्वरो भएका बिरामीलाई एडिस जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा डेंगु रोग सर्छ । दिउँसो सक्रिय हुने र शरीरमा सेतो छिरबिरे धर्काहरू हुने लामखुट्टे एडिस जातको लामखुट्टे हो । यो लामखुट्टे सामान्यतया एक महिनासम्म बाँच्छ । लार्भा एक सातामा लामखुट्टे बनेर थप फैलन्छन् । एक महिनासम्म बाँच्ने लामखुट्टेले अरुलाई पनि टोक्ने संभावना रहन्छ । डेंगुले महामारीको रुप नल्याओस् भन्नका लागि बेलैमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नु पर्ने हो तर यतातिर ध्यान दिएको पाईदैन । सरकारी संयन्त्रहरूको अक्षमता र नागरिक स्वजागरणको अभावका कारण अवस्था जटिल बन्दै गएको छ । त्यसैले यस्ता लार्भा, प्यूपा हुनसक्ने सम्भावित ठाउँ खोजेर नष्ट गर्नुको विकल्प छैन । स्थानीय, प्रदेशमात्र होइन संघीय सरकार पनि खोज र नष्ट गर्ने अभियानलाई निरन्तरता दिन नसक्दा डेंगु नियन्त्रण हुन नसकेको हो ।
डेंगुको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने जरुरी छ । लामखुट्टेको प्रजनन् प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घरवरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनु पर्छ । डेंगुको जोखिम कहिलेसम्म रहन्छ अहिले कसैलाई थाहा छैन् । त्यसैले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु संक्रमणबाट बच्ने उत्तम उपाय हो । तसर्थ अझै पनि डेंगु संक्रमणको जोखिम कायमै रहेकाले त्यसबाट बच्न बेवास्ता होइन सर्तकता अपनाऔं ।