वर्तमान सरकार बनेको सय दिन भएको छ । यो समयलाई ‘हनिमुन पिरियड’ पनि भनिन्छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री भएका थिए । यो पटक कांग्रेस–एमालेको गठबन्धनबाट ओेली प्रधानमन्त्री भएका हुन् । असार १७ गते भएको राजनीतिक स्थायित्व, संविधान संशोधन तथा अर्थतन्त्रलाई चलायमान बनाउनेलगायत सातबुँदे सहमतिमा यो सरकार बनेको हो । दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको यो सरकारसँग जनताका ठूलो आशा र अपेक्षा छ । सत्तालाई साना दलले सधैं बार्गेनिङ थलो बनाएको भन्दै काँग्रेस एमाले एक ठाउँ आएका हुन् । अस्थिरताको कारक साना दल भए भनेर नै यो सरकार बनेको हो ।
सरकार बन्नु र त्यसले निरन्तरता पाउनुमात्र ठूलो कुरा होइन सरकारका कामहरू के कस्ता भए, रहे भनेर हेर्नु र समीक्षा गर्नु चाहिँ महत्वपूर्ण हुन जान्छ । प्रधानमन्त्रीले बुधबार एक सम्बोधनमार्फत आफ्नो सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । सरकार गठन भएपछि सबै मन्त्रालयद्वारा बनाइएको कामको सूचीमध्ये करिब ७० प्रतिशत काम सम्पन्न गरेको दाबी उनको छ । तर्क चातुर्य र आफूअनुकूलका तथ्यांकबाट हरेकजसो सरकारले सफलताको र विपक्षीले असफलताको दाबी गर्ने प्रवृत्ति पुरानै हो । ओलीले गरेको दाबी पनि त्यसकै सिलसिला हो । यद्यपि, सरकारको सफलता र असफलता छुट्याउने कुनै स्पष्ट विभाजन रेखा हुँदैन । यस सन्दर्भलाई सरकार गठन हुँदै गर्दा सार्वजनिक रूपमा गरिएका वाचा र आमजनतामा विकास भएको अपेक्षा कति पूरा हुन सक्यो भन्ने कोणबाट चर्चा गरिन आवश्यक छ ।
यो सरकारका सय दिनभित्र त्यति धेरै सन्तोष गर्न सकिने गरी काम भएका छैनन् तर त्यसो भन्दैमा सरकारले केही गर्दै गरेन भन्ने होइन । केही गर्ने प्रयासहरु भएका छन् । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । सय दिन लामो समय होइन । तर सरकारको प्रवृत्ति, प्राथमिकता र कार्यशैलीको भेउ बुझ्न यथेष्ट समय हो । यतिबेला प्राप्त प्रतिक्रियालाई शिक्षाका रूपमा लिएर कार्यशैलीलाई प्रभावकारी बनाउने हो भने सरकारले सकारात्मक नतिजा दिँदै जानेछ । तसर्थ सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।