Shittalpati
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग


रमेश विश्वकर्मा

गुल्मी । पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् । दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग कानुनी कारवाहीको माग गरेका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गत शनिबार जेठ १० गते राती गैरदलित भनिनेले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश वुढा मगरलाई घरेलु हातहतियार सहित लखेटी लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी क्रुर र ज्यादती ढङ्गले नरसंहार एवं हत्या गरी भेरी नदीमा फालेको र सञ्जु वि.क, गोविन्द शाहीलाई वेपत्ता बनाएको घट्ना अत्यन्तै दुःखदायी र निन्दनीय भएको अधिकारकर्मीहरुले बताएका छन् ।

सुष्मा मल्ल र नवराज विक बीच प्रेम सम्वन्ध भएको र गत शनिबार जेठ १० गते प्रेमीका सुष्माले विहे गर्न भनि बोलाएको बताईएको छ । नवराजको घरतर्फ जाँदै गर्दा सम्वन्धित वडाका वडा अध्यक्ष, केटीका बुवाआमा सहित गाउँका दुई तीन सय जनाको समुहले लखेटी सामुहिक रुपमा सांघातिक आक्रमण गरी भेरी नदीमा फालेको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।उनीहरुले बिहीवार एक विज्ञप्ती जारी गर्दै अन्तरजातीय प्रेम सम्वन्धका कारण १२ जनामाथि सांघातीक आक्रमण गरिएको घट्नाले नेपालको संविधान, छूवाछुत मुक्त राष्ट्र र नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सबै प्रकारका जातीय विभेद सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धि लगायतको उपहास भएको उल्लेख गरेका छन् । जातकै कारण ४ जना होनाहार युवाहरुले ज्यान गुमाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै घटनामा २ जना युवाहरुलाई वेपत्ता पारिएको छ । वेपत्ता पारिएका उक्त २ जना युवाहरुको अवस्था यथाशक्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई उनिहरुले आग्रह गरेका छन् । अधिकारकर्मीहरुले हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याई नेपालको संविधान र मुलुकी अपराध संहिता ऐन – २०७४ ज्यान सम्वन्धी कसुर र जातीय भेदभाव तथा छूवाछुत कसुर अन्तर्गत हदैसम्मको कानुनी कारवाहीको जोडदार माग गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका फोक्सिङ्गको जातीय विभेदको घटना र पछिल्लो समय देशभरी घटीरहेका जातीय भेदभावका घटनाहरु सेलाउन नपाउदै पश्चिम रुकुमको यो घटनाले गुल्मीमा क्रियाशिल रहेका दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, दलित पत्रकार संघ, परियार सेवा समाज लगायतका दलित संघ सस्थाहरुको गम्भीर ध्यान आर्कषण भएको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update