पाल्पा,जिल्लाको रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
नगरपालिका भित्र सञ्चालन हुने वडा र नगरस्तरीय योजना कार्यन्वयन सम्बन्धी विभिन्न प्रक्रियाको बारेमा जानकारीसहित १० वटै वडामा अभिमुखिकरण कार्यक्रम गरेको छ । उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरणका क्रममा योजना निर्माणको प्रक्रिया,उपभोक्ता समिति गठन सम्बन्धी व्यवस्था,समितिको काम कर्तव्य र अधिकार,योजना अनुगमनको प्रक्रिया, प्राविधिक पक्ष,सम्झौता र भुक्तानी प्रक्रिया र आवश्यक कागजात लगायतका विषयमा सहजिकरण गरिएको थियो । यो आर्थिक वर्षका लागि तय गरेका योजना कार्यन्वयनका लागि सहज होस भन्ने उद्देश्यले नगरकापालिकाका सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत पण्डितले नगरको विकासका लागि यो आर्थिक वर्षमा सञ्चालन हुने सबै योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह समेत गरे । यस्तै रामपुर नगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत हृदेश पन्थीले विधि र प्रक्रिया पुरा गरेर योजना सञ्चालन गर्नु पर्ने भन्दै योजना सम्पन्न भए पश्चात कुनै समस्या नहुने गरी काम गर्नु पर्नेमा जोड दिए ।
यस्तै ईन्जिनियर रञ्जन न्यौपानेले स्टमेट अनुसारको सामग्रीको प्रयोग गरी स्तरीय काम गर्नु पर्ने भन्दै गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । रामपुर नगरपालिकाका लेखा शाखा प्रमुख सिता न्यौपानेले योजना सम्पन्न भए पश्चात आवश्यक सबै कागजात पूरा गरेर मात्र भुक्तानीका लागि आउनु पर्ने बताए । यस्तै योजना शाखा प्रमुख विक्रम बस्नेतले नगरपालिका र वडाले तय गरेका ३ सय ७४ वटै योजना समयमै सम्झौता गरी समयमै गर्नु पर्नेमा जोड दिए । गत भदौ २४ गतेदेखि सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित,आलेप अधिकृत हृदेश पन्थी, ईन्जिनियर रञ्जन न्यौपाने,लेखा शाखा प्रमुख सिता न्यौपाने र योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।