पाल्पा, साहित्यकारहरु पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल पुगेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग काठमाडौं र नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी हुन जिल्लादेखि केन्द्रसम्मका साहित्यकारहरु रानीमहल पुगेका हुन् ।
रानीमहल पुुगेका दर्जन बढी साहित्यकार तथा कविहरुले कविता वाचन गर्दै पाल्पाको पर्यटन र साहित्यलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कवितामार्फत नै रानीमहल जस्तो ऐतिहासिक पर्यटकीय स्थलको विकास गर्न सबैले चासो देखाउनुपर्ने बताए ।
कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य प्राज्ञ विभाग प्रमुख बाबा बस्नेतले पर्यटन र साहित्यलाई व्यापक बनाउनका लागि पनि यो ऐतिहासिकस्थल पाल्पाको रानीमहलमा प्रज्ञा प्रतिष्ठानले पहिलो पटक जिल्लासंग समन्वय गरेर कार्यक्रमको आयोजना गरेको बताए । उनले कविता विधाको उत्थान र विकासका लागि सम्पुर्ण साहित्यिक सर्जकहरु लाग्नु पर्ने कुरामा जोड दिए । साहित्यकार सन्ध्या पहारीले पाल्पा साहित्यमा उर्वर रहनुको साथै आफ्नै गौरव बोकेको यो सुन्दर पर्यटकीयस्थल रानीमहलमा फेरि–फेरि पनि यस्तै कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता व्यक्त गरिन् । साहित्यकार प्रगतिशील लेखक संघका अध्यक्ष राम प्रसाद अर्यालले प्रज्ञाले पाल्पामा समन्वय गरि यो कार्यक्रमको अवसर दिएकोमा आयोजक लाई धन्यवाद दिए । नारी साहित्य प्रतिष्ठान काठमाडौका अध्यक्ष गीता कार्कीले नारीका संस्थाहरु बिच समन्वय गरि रचनात्मक कार्य गर्दै जाने बताइन् । नारी उन्नयन विकास प्रतिष्ठानकी पूूर्व अध्यक्ष लक्षीमा ज्ञवलीले साहित्य र पर्यटन प्रवद्र्धनलाई समेत जोडेर आगामी दिनहरूमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

कविता वाचनमा साहित्यकारहरु प्रगतिशिल लेखक संघका अध्यक्ष राम प्रसाद अर्याल, नारी उन्नयन विकास प्रतिष्ठानकी संरक्षक पूूर्व अध्यक्ष लक्षीमा ज्ञावली, साहित्यकारहरु आयम कार्की, शारदा खनाल,सन्ध्या पहारी, गीता कार्की ,मञ्जु कोइराला, सिताराम घिमिरे ,पोखराथोक साहित्य संगमका गोविन्द खनाल,साहित्यकार प्रज्ञा प्रतिष्ठान काव्री विभाग प्रमुख बाबा बस्नेत, नारी साहित्य तथा साँस्कृतिक प्रतिष्ठान पाल्पाका अध्यक्ष मन गहिरे लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । नारी साहित्य तथा साँस्कृतिक प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता, कोषाध्यक्ष कल्पना भट्टराईको स्वागत, सचिव मञ्जु कोइरालाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


                                        
                                        
                                        
                                        
                    
                    
                    