सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ मानिन्छ । यो पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् । गिद्ध अहिंसाको पुजारी पनि हुन् । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् । तर, पछिल्लो समयमा यिनै प्रकृतिका कुचिकार मानिने गिद्धहरु लोप हुँदै गएका छन् । गिद्ध प्रकृतिको एक अभिन्न अंग रहे पनि त्यसको संरक्षणमा कसैले पनि चासो नदिदा लोप उन्मुख अवस्थामा पुगेको पाइन्छ ।
गिद्धको संख्या घट्दै जाँदा विभिन्न महामारीजन्य रोगहरूको संख्या समेत बढ्न गएको पाइन्छ । गिद्धले मरेका जनावरको शवलाई खानु भनेको महामारी जन्य रोगको जीवाणुलाई खानु हो । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र झिंगाको संख्या वृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोगको संक्रमणले महामारी फैलिन सक्छ । तर त्यही गिद्ध मानवीय लापरवाहीका कारण लोप हुँदै जानु दुखद् हो । विषाक्त पदार्थहरूको प्रभाव र पर्यावरणीय समस्याहरूले यसको संख्या मासिंदो छ । गिद्धको अकल्पनीय र अप्राकृतिक विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो ।
डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् उक्त सिनो खाने गिद्धमा डाइक्लोफेनेकले भिसरल गाउट गराई अन्ततः मृगौला फेल गराउँछ र मृत्यु हुन्छ । विषाक्त पदार्थहरूको प्रयोग कम गर्न, प्राकृतिक आवासको संरक्षण गर्न र गिद्धहरूको लागि सुरक्षा क्षेत्र तयार गर्न अब ढिला गर्नु हुन्न् । गिद्धको विनाश रोक्न सरकारी निकाय, संरक्षणकर्मी, समुदाय र सरोकावाला निकायहरु सामुहिक रुपमा जुट्न आवश्यक छ । तीनै तहका सरकारले समेत छुट्टै कानुन बनाएर कडाईका साथ कार्यन्वयन गर्न जरुरी छ । यसो भयो भने पनि गिद्धको सरंक्षण हुन सक्छ । अन्यथा मानव जीवन समेत संकटमा पर्ने निश्चित छ ।