Shittalpati
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन

कृष्ण पोखरेल

पाल्पा । जिल्लामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्न थालिएको छ । भारतीय भूमिबाट धमाधम नेपाली श्रमिकहरु जिल्ला भित्रिन थालेपछी जोखिमबाट बच्न शंकास्पद व्यक्तिहरुको स्वाव संकलन तथा परीक्षण गर्न थालिएको हो । सोमवार मात्र जिल्लामा ४१ जनाको स्वाब परीक्षणको लागि नमूना संकलन गरिएकोछ । तानसेनको क्वारेन्टाइनमा राखिएका भारतबाट हालै नेपाल आएका नागरिक, क्वारेन्टाइनमा सुरक्षा प्रदान गर्दै आएका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिहरुको स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा पठाइएको हो ।

जिल्लाको मुख्य नाका दोभानमा खटिएका २० जना सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको स्वाव परीक्षणको लागि नमूना संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लामा यति धेरै मात्रा स्वावको नमूना संकलन गरिएको पहिलो पटक हो । यस अघि २ महिनाको अवधिमा लुम्विनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिशन अस्पतालबाट गरी २५ जनाको मात्र स्वाव परीक्षण गरिएको थियो । अहिलेसम्म जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका २ सय ५८ जनाको आरडिटी परीक्षण गरिएको छ । आरडिटी र पिसिआर किटमार्फत गरिएका परीक्षणको रिपोट भने नेगेटिभ आएको छ ।

जिल्ला स्थित कोरोना रोकथाम नियन्त्रण समितीको बैठकले जेठ १ गतेदेखी भारतबाट आएका र जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको अनिवार्य स्वाव परीक्षण गर्ने निर्णय गरे अनुरुप स्वाव परीक्षणलाई तिव्रता दिइएको हो । स्वाव परीक्षणलाई तिव्रता दिने निर्णयसँगै हालै जिल्लामा १ सय ५० वटा स्वाव संकलन किट, ६ सय ४० वटा आरडिटी किट प्रदेश ५ सरकारले उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । हाल भारत तथा जिल्ला बाहिरबाट आएका ७८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

जेठ २ गते बसेको सर्वदलिय सर्वपक्षिय बैठकले भारतबाट नेपाली श्रमिकहरु जिल्ला भित्रिने क्रम शुरु भएकाले कोरोना रोकथामका लागि १ सय २० वटा आइसोलेसन बेड र ३ हजार वटा क्वारेन्टाइन वेड निर्माण गर्न पालिकाहरुलाई जिम्मेवारी दिईएको छ । पालिकाहरुले प्रत्येक दिन भारतबाट आउने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा अपडेट गराउनु पर्ने, लुकिछिपी तथा पैदल आउने व्यक्तिहरुलाई रोक्न पालिका स्तरमा निगरानी समूह खटाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update