Shittalpati
कोरोना पोजेटिभ महिलाको मृत्यु

काठमाडौँ,कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको हो । अस्पतालले शंका लागेर फेरि परीक्षण गरेको र टेकुस्थित प्रयोगशालाको परीक्षणमा पनि पीसीआरको नतिजा पोजिटिभ आएको स्रोतले जनाएको छ । यो समाचार तयार पार्दासम्म औपचारिक पुष्टि भने गरिएको छैन ।

उनको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालसँग छलफल गरे पनि थप अध्ययन गरेर मात्र रिपोर्ट सार्वजनिक गर्ने स्रोतले जनाएको छ । शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ । वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update