पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको सडक पहिलो प्राथमिकतामा परेको छ । ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भने नारालाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाले सबैभन्दा बढी सडक निर्माण र मर्मतलाई प्रथामिकतामा राखेको हो ।
स्थानीयको माग र उपभोक्ताको आवश्यकता आधारमा पालिकाले सडकलाई प्राथमिकतामा राखेको जनाएको छ । अहिले रैनादेवी छहराले विकासमा फड्को मार्दै छ । गाउँ–गाउँमा सडक सञ्जाल पुगेको छ भने शहर बजार तथा राजमार्ग क्षेत्रमा मात्र केन्द्रीत रहेको सडक कालेपत्रे गर्ने काम अहिले स्थानीय सरकार आएपछी गाउँ–गाउँमा हुन थालेको छ । यहाँका ग्रामिण क्षेत्रका सडकहरुमा अहिले धमाधम कालोपत्रे पिचको काम हुँदै छ । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा छहरा, ध्वजा बान्ने– तानसिङ्गल–सातमुरे सडकको कालोपत्रेको काम गरिरहेको छ । गाउँपालिकाले बहुबर्षिय योजना अन्र्तगत चालु आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्म छहरा वडा नं–४ को कार्यालयदेखि ध्वजाबान्ने सम्मको १ हजार ५ सय ६० मिटर सडक पिच (कालोपत्रे) सक्ने छ ।
पालिकाले अधिकाश वडाहरुलाई समेटेर सिमाना जोडिएका ३ जिल्ला जोड्ने सडक कालेपत्रे योजनालाई प्राथमिकतामा राखेर गत बर्षदेखी कालोपत्रे काम शुरु गरेको हो । पालिकाले छहरा ध्वजा बान्ने– तानसिङ्गल–सातमुरे गुल्मी जोड्ने सडक, अमलावास, ध्वजा बान्ने, तालपोखरा हुँदै अर्घाखाँची जोड्ने सडक र सुन्दरढुङ्गा, जुठा बल्ढेङ्गढी, सत्यवती हुँदै रुपन्देही जोड्ने सडकमा पिच कालोपत्रेको काम गर्दै आएको पालिका अध्यक्ष रूक्मागत भट्टराईले बताए । गाउँ–गाउँमा जनता यात्रा गर्दा, सवारी साधन चलाउदा शहर बजारमा जस्तै सहज होस् भनेर नै पालिकाले गौरवका योजनाहरु नामाकरण गरेर काम शुरु गरेको अध्यक्ष भट्टराईले बताए । सडक पिच भएपछी वडा–वडाबाट जनताहरुले पालिकासम्म छिटो छरितो सहज रुपमा यात्रा गर्न पाउने उनले बताए । ‘सबै पूर्वाधार निर्माण गर्न सडक अपरिहार्य संरचना भित्र पर्दो रहेछ’, उनी भन्छन्, ‘बस्तीसम्म सहज सबै पहुँच पुर्याउन पनि सडक आवश्यक छ ।’ आफ्नो गाउँपालिकामा अत्यावश्यक सडकलाई स्थायी संरचनाका रुपमा विकास गर्दै लाने लक्ष्य अघि बढाइएको अध्यक्ष भट्टराईले बताए ।
पालिकाले कालोपत्रेका लागि चालु आर्थिक बर्ष २०८०/८१ को लागि कुल ४ करोड, २ लाख ७८ हजार ६ सय ६० रूपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ५० प्रतिशत संघीय समपुर बजेट र ५० प्रतिशत गाउँपालिकाको बजेटबाट कालोपत्रेको काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सीनाले बताए । आगामी आर्थिक बर्षमा बाँकी काम ध्वजा बान्नेबाट तानसिङ्गल खण्ड हुने प्रमुख प्रशासकीय अधिकृत तिमिल्सीनाले बताए ।
गत बर्ष सुन्दरढुङ्गा, जुठा बल्ढेङ्गढी, सत्यवती हुँदै रुपन्देही जोड्ने सडकको नेपानेसम्मको ३ किलोमिटर क्षेत्रमा कालेपत्रे गरेको र हाल ३ हजार ३ सय मिटर क्षेत्रमा बाटो चौडाको काम भईरहेको इन्जिनियर किशोर खनालले बताए । बाटो चौडाको लागि १ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम भईरहेको उनले बताए । गौरवको योजना अन्र्तगत आगामी बर्षको पिचको लागि ध्वजा बान्ने पेलावास सडक खण्डको १ हजार २ सय मिटर क्षेत्रमा ग्रावेल गरिएको छ । निर्माण व्यवसायीले सडक ग्रावेलको लागि ५९ लाख ठेक्का सम्झौता गरेको थियो । रैनादेवी छहरा गाउँपालिकाले वडा नंं.८ को मेहलछेडा ज्यामिरे क्षेत्रमा १ हजार ५ सय मिटर सडक ढलान गरेको छ । चालु आर्थिक बर्षमै तानसिङ्गल, सोमादी र सिद्धेश्वर सडक खण्डको स्तरन्नोतिको काम भईरहेको छ । आगामी बर्षको बजेटमा पनि पालिकाले पुर्वाधार क्षेत्रमा ठूला–ठूला योजनाहरुलाई प्राथमिकता दिने जनाएको छ ।