Shittalpati
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन

गुल्मी, जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो । छिमेकी जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालय अमर अर्बाथोकले युवा परिचालन गरी लकडाउनमा थप कडाई गरेको छ । अर्घाखाँचीसँग सीमा जोडिएकाले पनि वडाको सिमा क्षेत्रबाट मानिसहरु आवतजावत गर्ने बढी सम्भावना भएकाले युवासँगै जनप्रतिनिधि, सुरक्षाकर्मी सक्रिय रुपमा लागेको वडा सदस्य बाबुराम पन्तले बताए । वडामा बसेको सरोकारवालाहरुको सामुहिक बैठकले यस्तो निर्णय गरेको थियो । अहिले २४ सै घण्टा आलोपालो गरी जनप्रतिनिधि,स्थानीय युवा र चारपाला प्रहरी चौकीको संयुक्त टोली अर्घाखाँची र गुल्मीको सिमा खर्जयाङ्गमा खटिरहेका छन् । यस क्षेत्रमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन र बाहिरी जिल्लाबाट छिर्न नदिइएको स्थानीय युवा गुणानिधि पौडेलले बताए । नेपाल सरकारले वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको छ । – रामकृष्ण कडेलको सहयोगमा

 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update