Shittalpati
गैरदलितको घरमा दलित पसेपछि जरिवाना

रमेश विश्वकर्मा

गुल्मी । गत वैशाख २२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ । कालिगण्डकी फोक्सिङका नेत्र काउछाको घरमा पसेको भन्दै त्यस गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका छोरा श्याम परियारलाई १५ सय जरिवाना गराइएको थियो । गैरदलितको घरमा दलित पसेको भन्दै पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियारले बताए । फोक्सिङमा भएको जातिय विभेदको घटनाले दलित आन्दोलनलाई चुनौती मात्र दिएन, सिङ्गो दलित समुदाय माथि नै धावा बोलेको छ ।

पीडित परियार आफ्नो हजुरआमाको दाह सस्कार गरेर फर्किदै गर्दा एक्कासी हावा हुरी सहित भीषण पानी परेपछि ओतिनको लागि फोक्सिङका नेत्रबहादुर काउछाको घर दलानमा छिरे । त्यही क्रममा घर बाहिर रहेको अस्थायी चुलोमा परियार मानिसहरुको पेलाम्पेल हुँदा छिर्न पुगेको बताइएको छ । अर्को दिन बिहान गाउँ कार्यपालिका सदस्य रहेकी कौशिला परियार सहितका दलितहरुलाई बोलाएर खैला–बैला मच्याइयो । पीडित श्यामको बुवा धनबहादुर परियारलाई समेत हातपात गरेको कार्यपालिका सदस्य परियारले बताइन् । ‘पीडित श्यामलाई लौराले हान्न आएका थिए । मैले त्यसरी कुटेर होइन न्याय निसाफका कुरा गरौं भने पछि छाडेका हुन् ।’ कार्यपालिका सदस्य परियारले भनिन् । शुरुमा ७ हजार तिर्नुपर्ने र बाहुन बोलाएर पुजापाठ गरी चोख्याउने अडान काउछा परिवारले लिएको उनले बताइन् । अन्तिममा आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै १५ सयमा घर चोख्यान टुङ्गो लगाई पैसा दिएर आफुहरु फर्केको वडा सदस्य परियारको भनाई छ ।

यस विषयमा वडा ५ का वडाअध्यक्ष थमनसिं आलेसँग प्रतिक्र्रिया लिँदा घटना अत्यन्तै दुखदायी भएको र आफुलाई घटनाको बारेमा जानकारी नै नदिई कार्यपालिका सदस्य पीडितकी आमाले स्वयम् मिलाउन खोज्दा समस्या आएको बताए । सिङ्गो दलित समुदाय नै लज्जित हुने गरी भएको त्यस घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपक्ति जनाएका छन् । दलित अधिकारकर्मी गणेश विश्वकर्माले जातिय विभेदको प्रराकाष्ठ विरुद्ध कार्बाहीको माग गरे ।

नेपाल दलित संघका पूर्व अध्यक्ष झविन्द्र विश्वकर्माले २१ शताब्दीमा आइपुग्दा समेत समाजमा यस्तो घटना घट्नु लज्जास्पद भएको बताए । नेपाल दलित मुक्ति संगठन जिल्ला सचिवालय सदस्य कृष्ण नेपालीले जरिवाना गरेको कार्य प्रति घोर आपत्ति व्यक्त गर्दै छिटो भन्दा छिटो कडा कारवाहीको माग गरे । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनारले दलित समुदाय माथि नै प्रहार हुने गरी भएको त्यस घट्नालाई सामान्य रुपमा लिन नहुने बताए । त्यसो त कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले कार्यपालिका सदस्यको छोरामाथि भएको त्यस घटनाले गाउँपालिकालाई लज्जित तुल्र्याएको बताएका छन् । उनले भने ‘पीडितलाई न्याय दिलाउने पक्षमा छौँ र यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update