
इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
दिनमा सुरक्षाकर्मी तथा स्थानीयले निगरानी गर्ने भएपनि रातको समयमा यातायातका साधन तथा मानिसहरुको आवत–जावत निगरानीका लागि यस्तो व्यवस्था गरेको हो । नगपालिकाले प्रशासन, सुरक्षा निकाय, नगरका राजनैतिक दल, समन्वय समितिसंग छलफल गरी सुझाव अनुसार बिहीबारको कार्यपालिका बैठकबाट यस्तो निर्णय गरेको हो । नगर क्षेत्र भित्रने ३२ वटै नाकाहरुमा २/२ जना गरी ६४ जना सुरक्षा गार्डको व्यवस्था गर्न लागेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । सुरक्षा गार्डको लागि नाका भएका सम्बन्धित वडाको सिफारिसमा ५० वर्षभन्दा मुनिका भूतपूर्व सैनिक तथा प्रहरी, म्यादी प्रहरी, सुरक्षा गार्डमा अनुभव भएका व्यक्तिलाई चयन गरीने आचार्यले जानकारी दिए ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बाहिरबाट आउने मानिसहरुले चुनौती थपिएको भन्दै गोरेटो, घोडेटो, झोलुङ्गे पुल, पक्की पुल तथा सडक मार्ग भएर भित्रने नाकाहरुको २४ सै घण्टा निगरानीका लागि यस्तो व्यवस्था गर्न लागेको बताए । उनले भने, ‘दिनको समयमा नेपाली सेना, नेपाल प्रहरीसंगै स्थानीयहरुले नाकाहरुको निगरानी गर्नेछ । तर रातको समयमा लुकिछिपी नगरमा अन्य स्थानबाट भित्रिने सक्ने खतरा भएकाले साँझ साढे ७ बजे देखि बिहान ५ बजेसम्म निगरानी गर्ने गरी पारिश्रमिक सहित सुरक्षा गार्डको व्यवस्था गर्न लागेका हौं ।’ अहिलेलाई ५ गते सम्मका लागि उनीहरुलाई नियुक्ति गर्ने र पछि आवश्यकता अनुसार समय थप गर्नेछ । सुरक्षा गार्डको लागि सम्बन्धित वडाका पायक पर्ने स्थान व्यक्तिलाई प्राथमिकता दिईने जनाएको छ ।
नगरपालिकाले शुक्रबार साँझ सम्ममा चयन गरी लगतै काममा खटाउने जनाएको छ । उनीहरुको अप्रत्यक्ष रुपमा निगरानी हुनेछ । सुरक्षा बेस क्याम्प रामपुर र इलाका प्रहरी कार्यालय रामपुरले समन्यव गरी दिनको समयमा मुख्य नाकाहरुको निगरानी गर्ने छ । नगरपालिकाले स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने राजनीतिक दल, भातृ संघ संगठन, क्लव, संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गरी आफ्ना टोल तथा नाकाहरुको निगरानी, लकडाउनको पालनामा सहयोग गर्न आग्रह गरेको छ ।