लुम्बिनी, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचौ मुख्यमन्त्री बनेका छन् ।
यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा (एमाले) सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरेका थिए ।
यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराउएका छन् ।