कृष्ण दर्नाल(रासस)
पाल्पा, जिल्लामा सञ्चालित सहकारी संस्थाले झण्डै दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीहरुले प्रसस्त लगानी गरेका हुन् । बचत तथा ऋण सहकारी संघ लिमिटेड तानसेनको २० औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार/व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका लगानी खर्चिएको छ । उत्पादनमूलक क्षेत्रबाहेक घर/जग्गा व्यवसायमा समेत लगानी हुँदै आएको प्रतिवेदनले औँल्याएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकामा २ सय ९२ सहकारी संस्था सञ्चालनमा रहेका छन् । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी गरीबी र बेरोजगारी हटाउन आफ्ना बचतलाई परिचालनमा जोड दिइराखेका छन् । पछिल्लो समय यस्ता लगानीबाट युवालाई स्वरोजगार बनाउन सहयोगी सावित भएको छ । यहाँ ३० करोडभन्दा माथि शेयर पूँजी संकलित छ । सहकारीमार्फत महिलाले रोजगारीका अवसर प्राप्त गरेका छन् । व्यवस्थापक, बजार प्रतिनिधिलगायतका पदमा महिलाको आकर्षण बढ्दो छ । कूल रोजगारीको झण्डै ६५ प्रतिशतभन्दा बढी महिला छन् । सहकारीमार्फत झण्डै ५ सय १० जनाले रोजगारी पाउन सफल बनेको बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष जगदीश भट्टराईले जानकारी दिए ।
जिल्लामा ८७ हजार ४ सय ५ शेयर रहेका मध्ये महिला ५३ हजार ६ सय ५ सदस्य छन् । एक हजार ५ सय १२ सञ्चालक मध्ये महिला ९ सय २३ रहेका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा योजनाबद्ध रूपमा सहकारी उद्यमशीलताको विकास गर्दै अघि बढेको देखिएको छ । सहकारीको प्रवद्र्धन, अनुगमन र निरीक्षणमा चासो नदिँदा प्रभावकारिता हुनसकेको छैन । प्रदेश पाँचमा चार हजार २ सय ३७ सहकारी संस्था रहेका छन् ।
सहकारी सञ्चालनका लागि ३३ हजार ३ सय ७६ सञ्चालक छन् । ११ लाख ११ हजार ३ सय १५ सदस्य र छ हजार ६ सय ६२ कर्मचारी छन् । छ अर्ब ३४ करोडभन्दा माथि शेयर पूँजी छ । ३० अर्ब १६ करोडभन्दा माथि बचत र ३४ अर्ब ५० करोडभन्दा माथि प्रदेशमा ऋण लगानी परिचालित छ । जिल्ला सहकारी संघका सचिव भूपति पाण्डेयका अनुसार चार वटा विषयगत, एक जिल्ला सहकारी संघ, जिल्लास्तरीय बचत तथा ऋण सहकारी संस्था जिल्लामा सक्रिय रहेका छन् । बचत तथा ऋण सहकारीमा ९१, दुग्ध १९, बहुउद्देश्यीय ३८, कृषि १०८, अदुवा नौ, कफी नौ, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, बीउबिजन, कोशेली र स्वास्थ्य एक/एक सहकारी संस्था रहेको सचिव पाण्डेयले बताए ।